वैशाख २३, काठमाडौं । नेपाली कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेलाको आयोजना गर्ने भएको छ । बुधबार बसेको प्रतिष्ठानको बैठकले बैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म सातै प्रदेशमा प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको हो ।

कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा तथा उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते धनगढी, कैलालीमा, कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते लेकवेसी, सुर्खेतमा, गण्डकी प्रदेशमा वैशाख ३१ र जेठ १ गते पोखरा, कास्कीमा भेला आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बागमती प्रदेशमा जेठ ४ र ५ गते धुलिखेल, काभ्रेपलाञ्चोकमा, मधेश प्रदेशमा जेठ ६ र ७ गते वर्दिवास, महोत्तरीमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला हुने भएको छ ।
त्यसैगरी बैठकले प्रतिष्ठानको उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ ।