• २०८३ भाद्र ११ गते बिहिवार

सर्बदलीय बैठकबाट १० बुँदे साझा सङ्कल्प जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

भदौ ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकले १० बुँदे अपिल जारी गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा भएको सर्बदलीय बैठकले विद्प व्यवस्थापन बारे सर्वदलीय संयुक्त १० बुँदे अपिल जारी गरेको हो ।

अपिलमा रवि लामिछाने, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, गगन थापा, सभापति, नेपाली कांग्रेस, पुष्पकमल दाहाल, संयोजक, नेपाली कम्युनिष्ट पार्टी, शंकर पोखरेल, महासचिव, नेकपा एमाले, ध्रुव राई, श्रम संस्कृति पार्टी, राजेन्द्र लिङ्देन, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी, उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी र चन्दन सिंह, जनमत पार्टीले हस्ताक्षर गरेका छन् ।

सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल

नेपाल र मित्रराष्ट्र चीनको सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका नदी बेसिनमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायतका जिल्लाहरूमा पर्न गएको असीमित मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय सङ्कटप्रति आज सम्पन्न सर्वदलीय बैठक गहिरो शोक र राष्ट्रिय पीडा व्यक्त गर्दछ ।

यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी निधन भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, विपत्तिमा परी घरबारविहीन भएका तथा रोजगारी र पूर्ण रूपमा आफ्नो जीवन गुमाएका नागरिकको अभिभावक राज्यले वहन गर्नुपर्ने कुरामा हामी सबै राजनीतिक दलहरू एकमत छौं ।

विपद्को यो संवेदनशील घडी केवल एउटा भूगोल वा सरकारको मात्र सङ्कट नभई सिङ्गो राष्ट्रको साझा परीक्षाको समय हो। यस विषम परिस्थितिमा हामी सम्पूर्ण राजनीतिक दलहरू आफ्नो वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एकीकृत हुने प्रतिबद्धता व्यक्त गर्दछौं ।

यस सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि हामी निम्न साझा सङ्कल्प प्रस्तुत गर्दछौंः

१. राहत कार्यको गैर–राजनीतीकरण

विपद्को समयमा गरिने सहयोग कुनै लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्न हुँदैन भन्नेमा हामी सम्पूर्ण दलहरू स्पष्ट छौं। तसर्थ, उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गर्दछौं। दलहरूका नेता, सदस्य र शुभचिन्तकहरूलाई दलगत पहिचानभन्दा माथि उठेर विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र खटिन आग्रह गर्दछौं ।

२. आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना

विपद् व्यवस्थापनमा हुने आर्थिक सङ्कलन पारदर्शी र व्यवस्थित हुनुपर्छ। कोही–कसैले पनि दलगत वा व्यक्तिगत रूपमा आफूखुसी आर्थिक सङ्कलन गर्ने कार्य नगर्न/नगराउन हामी आ–आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन दिन्छौं। सम्पूर्ण पार्टी पङ्क्ति, स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकहरूलाई नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जमा गर्न हामी विशेष आह्वान गर्दछौं ।

३. सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग र संवेदनशील सूचना प्रवाह

विपद्को संवेदनशील घडीमा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना र अतिरञ्जित दृश्यहरूले समाजमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुका साथै प्रभावितहरूको गोपनीयता र आत्मसम्मानमा चोट पु¥याउन सक्छ। तसर्थ, आधिकारिक निकायबाट प्रमाणित सूचनाहरू मात्र सम्प्रेषण गर्न र सामाजिक सञ्जालको संयमित, विवेकसम्मत र उत्तरदायी प्रयोग गर्न हामी सम्पूर्ण नागरिक तथा सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दछौं ।

४. हिमतालहरूको वैज्ञानिक अध्ययन र सीमापार संयुक्त पहल

जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विस्फोट हुने उच्च जोखिममा छन् । यसपटकको बाढीले भविष्यमा हुन सक्ने अझ ठूलो महाविपत्तिको सङ्केत गरिसकेको छ। तसर्थ, भविष्यको अकल्पनीय क्षतिलाई रोक्न अहिलेदेखि नै नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको विस्तृत वैज्ञानिक अध्ययन र नक्साङ्कन अविलम्ब सुरु गर्न हामी सरकारसँग माग गर्दछौं । साथै, सीमापार (चीनतर्फ) रहेका हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि मित्रराष्ट्र चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।

५. विपद् कूटनीति र पूर्वसूचना प्रणाली

नदी प्रणालीहरूको सीमापार प्रकृतिका कारण हुँदै देशबीच पूर्वसूचना प्रणालीको ‘रियल टाइम डाटा’ आदानप्रदानलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक छ। माथिल्लो तटीय क्षेत्रमा कुनै पनि प्राकृतिक हलचल हुनासाथ तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित गर्न सक्ने गरी प्रविधिमैत्री र भरपर्दो संयन्त्र विकास गर्न सरकारलाई सुझाव दिन्छौं ।

६. राष्ट्रिय एकता र समावेशी उद्धार

विपद् व्यवस्थापनमा पहिलो प्रतिकार्यकर्ताका रूपमा स्थानीय तहले निर्वाह गरेको भूमिकालाई हामी उच्च मूल्याङ्कन गर्दछौं। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विपद्मा सर्वाधिक जोखिममा पर्ने यथार्थलाई मनन गर्दै उनीहरूको उद्धार, राहत र व्यवस्थापनमा पहिलो प्राथमिकता दिन आग्रह गर्दछौं ।

७. उत्थानशील पुनर्निर्माण र शून्य सहनशीलता

भत्किएका संरचनाको अझ उन्नत र सुरक्षित पुनर्निर्माणको राष्ट्रिय अभियान अविलम्ब सुरु गरिनुपर्दछ। साथै, विपद्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा राहतको दुरुपयोग गर्ने कुनै पनि प्रवृत्ति राष्ट्रहितको गम्भीर अपराध भएकाले त्यस्ता कार्यमा संलग्न जोकोहीलाई ‘शून्य सहनशीलता’ को नीति अनुरूप कडा कानुनी कारबाही गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।

८. जलवायु न्याय र विश्वव्यापी उत्तरदायित्व

हिमाली क्षेत्रमा बढ्दै गएको हिमताल विस्फोट र असामान्य बाढीको शृङ्खला विश्वव्यापी जलवायु परिवर्तनको असर हो, जसमा नेपालको योगदान नगण्य छ । नेपालले भोगिरहेको यस्ता ‘हानि र नोक्सानी’ को विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाउँदै, जलवायु न्यायको सिद्धान्त अनुरूप अन्तर्राष्ट्रिय समुदाय र बहुपक्षीय विकास साझेदारहरूलाई दायित्वबोध गराउन सरकारलाई आग्रह गर्दछौं ।

९. अन्तर्राष्ट्रिय समुदायको सहयोग

अकल्पनीय क्षतिपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र चीन तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्दछौं ।

१०. दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन

विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नगरी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ। तसर्थ, विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘सर्वदलीय संयन्त्र’ गठन गर्न हामी सहमत छौं। यस संयन्त्रले सङ्कटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासको एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

अन्त्यमा, आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण स्वयंसेवकहरूको अदम्य साहस र समर्पणको हामी उच्च सम्मान गर्दछौं। यस अकल्पनीय राष्ट्रिय सङ्कटलाई एकताबद्ध भई राष्ट्रिय नवनिर्माण, पूर्वतयारी र उत्थानशीलताको अवसरमा रूपान्तरण गर्न हामी दृढ सङ्कल्पित छौं ।

Sharing

प्रतिक्रिया दिनुहोस