मंसिर १२, काठमाडौँ । चितवन २ जना, मोरङको २ जना र रुपन्देहीको १ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका महिलाको बिहान मृत्यु भएको हो ।
भरतपुर–१७ का वृद्ध यही मंसिर ५ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए । मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । हेटौंडा–१० की ५७ वर्षीया महिलालाई भने यही मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । मोरङको बेलबारी घर भएका ती पुरुषको गएराति मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । डायबिटिज र ब्लड प्रेसरको समस्या रहेका ती पुरुष यही मंसिर २ गते अस्पताल भर्ना भएका थिए । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका १० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । १७ दिनकी सुत्केरी महिलाको बिहीबार मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मिर्गौलामा खराबी र निमोनिया देखिएको थियो ।
महिलालाई ३० कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । झापाको दमकस्थित आम्दा अस्पतालमा कात्तिक २५ गते शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो ।
चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरेका थिए । विराटमा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । विराटमा पाँच दिनको उपचारपछि होम आइसोलेसनमा बस्ने भन्दै घर लगिएको थियो ।
रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ का महिलाको भिम अस्पताल भैरहवामा मत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा बिहीबार राति उनको मृत्यु भएको पोख्रेलले बताए । डा.पोखरेलका अनुसार उनको कोरोना परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो ।