भदाै १०, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि घाइतेको ज्यान जोगाउने, बेपत्ता नागरिकको खोजी गर्ने र प्रभावितलाई सुरक्षित राख्ने कार्य सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सरकार उद्धार, खोजी तथा राहतमा सम्पूर्ण शक्ति परिचालन गरेर अघि बढिरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो ।’
घाइते नागरिकको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।
‘घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ। उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले लेखेका छन् ।
प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रमै मेडिकल टोली परिचालन गरी घाइतेको उद्धार तथा प्राथमिक उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पठाइएको छ ।
यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनले बताएका छन् ।
भोटेकोशी बाढीबाट हालसम्म ९५ भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी दिँदै प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘बाढीका कारण हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ । म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको उनको भनाइ छ ।
उनले भने, ‘हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०+ नागरिकको उद्धार गरिसकेका छन्। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ ।’
आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए ।
‘आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ,’ उनले लेखेका छन् ।
बाढीमा हराइरहेका नागरिकको खोजी कार्यलाई थप तीव्र बनाउने र क्षतिको विस्तृत विवरण संकलन गर्ने प्रधानमन्त्री शाहले बताएका छन् ।
उनले भनेका छन्, ‘बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रातभर पनि उद्धार कार्य जारी नै रहनेछ ।’
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् ।
ती क्षेत्रमा पीडित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पु¥याइने उनले बताएका छन् ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी आयोजनाको पुनर्निर्माणलाई प्राथमिकता दिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको योजना रहेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले विपद्को समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्न अपिलसमेत गरेका छन् ।