वैशाख १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसाको बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा यादवले पदमा रहँदा अनियमितता गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भेटिएको आयोगको दाबी छ । आयोगका अनुसार २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मको अवधिलाई जाँच अवधि मानिएको थियो । सो अवधिमा यादव र उनको परिवारको वैधानिक आम्दानी ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ रहेको देखिएको छ ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, शेयर लगानी, अध्ययन खर्च, ऋण भुक्तानी लगायत शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च भएको पाइएको छ । यसअनुसार कुल आम्दानीभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बढी खर्च भएको र त्यसको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।
उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित यादव र उनकी श्रीमती निर्मला कुमारीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।