मंसिर ३, काठमाडौँ । नेपाली गाउँघरका मौलिक स्वाद, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपालको सहभागिताको तयारी गरिएको छ । महोत्सवलाई नेपाली होमस्टे (घरवास), स्थानीय कृषि उत्पादन र ग्रामीण पर्यटनको पहिचान विदेशी पर्यटक तथा बजारसम्म पु¥याउने अवसरका रूपमा लिइएको होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए ।महोत्सवमा सहभागी हुन महासंघले होमस्टे सञ्चालक, कृषक, उद्यमी तथा स्थानीय उत्पादनसँग जोडिएका सरोकारवालालाई आह्वान गरेको छ ।

अध्यक्ष थारूले महोत्सवलाई नेपालको होमस्टे पर्यटन र स्थानीय उत्पादनको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए ।
‘हामीले यस महोत्सवलाई नेपालको होमस्टे, स्थानीय उत्पादन, मौलिक संस्कृति र ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएका छौँ । नेपालका गाउँघरमा उत्पादन हुने वस्तु र त्यहाँको मौलिक आतिथ्य संस्कृतिलाई विदेशी पर्यटक तथा बजारसम्म पु¥याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ,’ अध्यक्ष थारूले भने ।
मर्दनिया नेपालकै चर्चित अमलटारी होमस्टेका अध्यक्ष समेत हुन् ।आगामी डिसेम्बर ११ देखि १३ (मंसिर २५ देखि २७) सम्म भारतको कोलकातास्थित सिटी सेन्टर–१, साल्टलेकमा महोत्सव आयोजना हुँदैछ । एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिजम (एसीटी) भारतको आयोजनामा हुने महोत्सवमा नेपालका होमस्टे सञ्चालक, स्थानीय उत्पादनका उत्पादक, उद्यमी तथा सांस्कृतिक प्रस्तोताहरूलाई सहभागी गराउने होमस्टे महासंघको तयारी छ ।
महोत्सवमा नेपाली सुन्तला, एभोकाडो, किवीलगायत फलफूल, स्थानीय कृषि उपज, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बिक्री गर्न सकिनेछ । यसले नेपाली उत्पादनको बजार विस्तारसँगै नेपालको ग्रामीण पर्यटन र होमस्टे संस्कृतिको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थारूले बताए ।
‘हामीले नेपालका विभिन्न स्थानमा सञ्चालित होमस्टेहरूको मौलिकता, स्थानीय खानपान, रहनसहन, संस्कृति र पर्यटकीय सम्भावनालाई महोत्सवमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने ।
महोत्सवमा सहभागी हुनेहरूका लागि प्रदर्शनी तथा बिक्री स्टल र आवास निःशुल्क उपलब्ध गराउने व्यवस्था महासंघले मिलाएको उनले बताए । महासंघले होमस्टे सञ्चालक, कृषक, उद्यमी तथा स्थानीय उत्पादनसँग जोडिएका सबैलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।