मंसिर ३, काठमाडौँ । आज सन् २०२६ को १९ नोभेम्बर । विश्व शौचालय दिवस, संसारभरि आज दिवस मनाइरहँदा महोत्तरीका मुसहर, बाँतर, डोम र हलखोर जातिभने खुला स्थानमानै शौच गर्न बाध्य छन् । गरिबी र अशिक्षाका कारण शौचालय बनाउन नै नसकेकाले उनीहरु खुला चउर र झाडीमा विनालाज शौच गरिरहेको जो कोहीले देख्न सक्छन् । ‘सुरक्षित शौचालयः समान भविष्य’ को नारासाथ आज विश्व शौचालय दिवस विश्वभर मनाइँदैछ ।

आज विश्व शौचालय सङ्गठन स्थापनाका गन्तीले २६ औँ र संयुक्त राष्ट्रसङ्घले औपचारिक रुपमा मान्यता दिएको गणनाले १४औँ विश्व शौचालय दिवस हो । सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अवसरको पहुँच बाहिरका सिमान्तकृत जाति समुदायका घर शौचालयविहीन छन् । मुलुक खुलादिसामुक्त राष्ट्र घोषणा भएको छ वर्ष नाघेको छ । विसं २०७६ साल असोज १३ गते (३० सेप्टेम्बर सन् २०१९) नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको हो ।
त्यसयता विपन्न परिवारका घरमा शौचालय निर्माणका योजना नबन्दा महोत्तरीका कूल एक लाख ४० हजार ७३० घरपरिवारमध्ये १५.४ प्रतिशत घरका जनता दिसापिसाब गर्न अझै खुला चउर, झाडी र सडकपेटी प्रयोग गर्न बाध्य छन् । पछिल्ला एक दशकयता गरिब बस्तीकै सर्वसाधारण पनि सडकपेटीमा भने दिसापिसाब गर्ने निकै घटेका सकारात्मक उपलब्धि पनि छ ।
विसं २०६८ र २०७८ को बीचको १० वर्ष विभिन्न राष्ट्रिय÷ अन्तरराष्ट्रिय सामाजिक सङ्घसंस्थाको साझेदारीमा स्थानीय तहले अभियानकै रुपमा सरसफाइ सचेतना र शौचालय निर्माणका काम बढाएका थिए ।
उक्त अवधिमा शौचालय निर्माणको कामले निकै गति लिएको थियो । तर २०७८ यता यो अभियान खासै नबढ्दा त्यसयता भने थप सुधार हुन नसकेको सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको भङ्गाहा–४ स्थित सूर्योदय सांस्कृतिक क्लवका पूर्वअध्यक्ष गोपालप्रसाद श्रेष्ठको भनाइ छ ।
महोत्तरीका गरिब दलित बस्तीमात्र नभएर अतिव्यस्त चोकबजार क्षेत्रमा सार्वजनिक शौचालयको अभाव छ । यो अवस्था अन्त्यको मुख्य पहलकदमी स्थानीयतहले लिनुपर्ने जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लालकर्णको सुझाव छ ।
“हामीले योजनाबद्ध काम गर्ने सङ्कल्प लिँदा अब केही समयभित्रै शौचालयविहीन अवस्था अन्त्य गर्न सक्छौँ”, कर्ण भन्नुहुन्छ, “यो अभियानको मुख्य पहलकदमी स्थानीयतह (वडा समिति तथा गाउँ÷नगर पालिका)ले सामाजिक सङ्घसंस्थालाई समन्वय गर्दै लिनपर्छ ।” यस्तो प्रयत्न बढाइँदा केही समयभित्रै शौचालय सुविधाविहीन अवस्था अन्त्य गर्न सकिने कर्णको विश्वास छ ।
मधेशका सबै जिल्लामा बसोबास रहेका मुसहरको २०७८ को पछिल्लो राष्ट्रिय जनगणनामा महोत्तरीमा २७ हजार ३५२ जनसङ्ख्या देखिन्छ । हाल बढेर ३० हजारको सेरोफेरोमा पुगेको यहाँका १५ वटै स्थानीय तहको आँकडाबाट अनुमान गर्न सकिन्छ ।
शैक्षिक, आर्थिक, सामाजिक र स्वास्थ्यका अवसरबाट निकै टाढा रहेका यी जाति समुदायको ठूलो हिस्सा अझै शौचका लागि झाडी र बस्तीबाट अलि परको चउरकैभरमा छन् । अत्यन्त पछौटेपनले जकडिएका मुसहरका नयाँ पुस्ताले शौचालयको महत्व बुझ्दै गएका पाइन्छ । बस्तीका अरु समुदायको देखासिकीबाट पाका मुसहर पनि शौचालयको आवश्यकता बुझ्न थालेका छन् । तर आफ्नो बस्तीभित्र कसैसँग शौचालय बन्ने थप जग्गा नहुँदा शौचमा यी जाति समुदायको नियति फेरिन नसकेको हो ।
“चर्पी चाहिने हो हजुर ! तर हाम्रा यी पराले झुप्राका गुजुमुज्ज बस्तीमा दुई÷चार हातको चर्पी बनाउने ठाउँ छैन”, दिक्दारी भावमा भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा ६५ वर्षीय जुगला सदा भन्नुहुन्छ, “दिसापिसाब गर्न चौडी (चउर) पस्नुपर्ने दिन नसकिने भए ।” चार÷पाँच वर्षअघि बस्तीमा चर्पी बनाइ दिने भन्दै कुनकुन संस्थाका मान्छे आए पनि ठाउँ नहुँदा बन्न नसकेको बताउनुहुन्छ ।
“हेनोस् न हाम्रा झुप्रा । आठ÷१० हात लम्बाइ–चौडाइको ठाउँमा एकअर्काका टाँस्सिएर बनेका छन्”, जुगला भन्नुहुन्छ, “ठाउँ नै छैन ।” परालको छाना र झिक्रामिक्राका भित्ताका झुप्रा बनेका ठाउँ पनि आफ्नो नाउँमा नरहेको उहाँ बताउनुहुन्छ । यस बस्तीमा अहिले करिब ७० घरपरिवार मुसहर छन् ।
मुसहरजस्तै आहारव्यवहार र धेरै परम्परा मिल्ने दलित समुदायका बाँतर जाति पनि हुन् । मुसहरको जिल्लाका अरु सबै स्थानीयतहमा धेरथोर बसोबास भए पनि बाँतर भने भङ्गाहा नगरपालिका क्षेत्रमा मात्र छन् ।
मुसहर र बाँतर जोडिदा भङ्गाहा नगरपालिका क्षेत्रमा छुट्टाछुट्टै गणनामा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति समुदाय हुन्छ ।
बाँतर जातिका अधिकांश बस्ती पनि शौचालयविहीन छन् । यसै नगरक्षेत्रमा २७.९ प्रतिशत घर अझै शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पछिल्ला पाँच वर्षमा उल्लेख्य सुधार नआएको नगरक्षेत्रका सामाजिक सङ्घसंस्थाका अगुवाले स्वीकार गर्नुभएको छ ।
यहाँका मुसहर, बाँतरका लागि दिसापिसाब गर्ने थलो चउर, झाडी र रातविरात त सडक छेउका किनार हुन्छन् । नगर क्षेत्रमा पातलो बसोबास रहेको अर्को दलित समुदाय डोम जातिको पनि अवस्था मुसहर, बाँतरजस्तै छ ।
पुरुषलाई महिलालाई शौचमा झनै अप्ठ्यारो छ । उज्यालो नहुँदै बस्तीभरिका महिला मेलापात हिँडे झैँ समूहमा दिसापिसाब गर्न निस्कन्छन् । “के गर्नु ? हामीसँग झिक्राझिक्रीले बारबेर गरेर खाल्डो खन्ने ठाउँ पनि छैन”, भङ्गाहा–३ सकरी बस्तीकी शुकनी सदा भन्नुहुन्छ ।मुसहर समुदाय यहाँका मात्र नभएर जिल्लाभरिकै खुला दिसापिसाब गर्छन् । सम्पत्तिको नाउँमा सानो पराले झुप्रो मुस्किलले ठडिएको हुन्छ । झुप्राहरु एकअर्कोमा खप्टिए झैँ छन् ।
कसैसँग शौचालय बनाउने ठाउँ र आर्थिक सामथ्र्य नभएपछि मुसहरको दिसापिसाब खुला गर्नुपर्ने बाध्यता नहटेको सामाजिक संस्था, प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्णको भनाइ छ ।
जिल्लामा मुसहरमात्र नभएर बाँतर, डोम, मेस्तर, हलखोर, चमार, खत्बे र दुसाधसहितका जाति समुदाय पनि आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक अवसर नपाएर निकै पछि परेका मानिन्छन् । तर शौचालयमा पहुँच नहुनेमा मुसहर, बाँतर, डोम र हलखोर नै बढी छन् ।
महोत्तरीमा २०७८ को राष्ट्रिय जनगणनाले सात लाख छ हजार ९९४ जनसङ्ख्या देखाएको छ । राष्ट्रिय जनगणनाअनुसार जिल्लाका १५ प्रतिशतभन्दा बढी घरपरिवार अझै शौचालय पहुँच बाहिर रहेको देखिएका छन् ।
आज विश्व शौचालय दिवस मनाइरहँदा सरसफाइको मुख्य पाटो मानिने शौचालय नभएका अझै महोत्तरीमा १५.४ प्रतिशत घरपरिवार रहेका राष्ट्रिय जनगणनाकै तथ्याङ्कमा उल्लेख छ ।