असोज ५, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेनजी आन्दोलनपछि उनीहरूका माग पूरा गर्ने प्रतिबद्धतासहित बनेको सरकारले नै जेनजीका मागलाई बेवास्ता गरिरहेको आरोप लगाए ।

उनले भने, ‘जेनजी आन्दोलन पछाडि जेनजीहरुको माग पुरा गर्छौं भनेर बनेको सरकारले जेनजीहरुकै मागहरुलाई बेवास्ता गरिरहेको कुरा विर्सन लायक छ म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’
उनले छातीमा गोली लागेर घाइते भएका विवेक दनुवार अहिले झापाको बिर्तामोडमा विभिन्न माग राख्दै अनशनमा बसेको बताए ।
राईले अनशनरत घाइतेहरूलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने, हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने तथा घाइतेका लागि उचित क्षतिपूर्ति र जीवनयापनको व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तै, घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूलाई विशेष छुट दिनुपर्ने तथा घाइते र सहिद परिवारको माग सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने बताए ।
उनले भने, ‘घाइतेहरूलाई निःशुल्क गुणस्तरीय उपचारको व्यवस्था गरियोस्। हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नुका साथै घाइतेहरूका लागि उचित क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था गरियोस् । घाइते र घाइतेका परिवार तथा सहिद परिवारका लागि निःशुल्क शिक्षा प्रदान गरियोस् । सार्वजनिक यातायातमा घाइतेहरूका लागि विशेष छुटको व्यवस्था गरियोस् । घाइते तथा सहिद परिवारलाई सम्बोधन गर्न विशेष कानुन निर्माण गरियोस् ।’
उनले सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका मागलाई गम्भीरतापूर्वक लिएर तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।