असार १९, मुगु। हिमाली जिल्ला मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकाले जातीय भेदभाव छुवाछुत बिरुद्ध अन्त्यका लागि अन्तरसंवाद तथा सहभोजको आयोजना गरेको छ । शुक्रवार छाँयानाथ रारा नगरपालिकाको दलित हेल्प डेस्कले आयोजना गरेको सहभोजमा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियान्ता, सुरक्षाकर्मीका प्रमुख दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी र सर्वसाधारण लगायतले सहभागिता जनाएका थिए । जातीय विभेद सामाजिक अपराध भएको सन्देश सँगै समाजमा एकता र भाईचराको सम्बन्ध लाई प्रत्याभुति गर्न हभागीहरूले एउटै स्थानमा बसेर भोजन गर्दै सामाजिक समानताको अभ्यास गरेका थिए ।

जातीय विभेद अन्त्य गर्न सहभोजले निकै ठुलो सहयोग पु¥याउने बताइएको छ । कानुनमा मात्रै सीमित नराखी व्यवहारमै जातीय विभेद अन्त्यका लागि नगरपालिका प्रतिबद्ध रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए । सहभोज कार्यक्रम सामाजिक रूपान्तरणको एउटा महत्वपुर्ण यात्रा भएको भन्दै नगर प्रमुख भामले छुवाछूत अन्त्य गर्न आम नागरिकले सोचसँगै व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । बाहिर छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा लागु नभएको भन्दै जातीय आधारमा कसैले छुवाछुत गरेको पाएमा कानुन अनुसार कारबाहीसमेत हुने उनको भनाई रहेको थियो । उनले थपे दुर्गमका दलितको समस्या , पेशाको संरक्षण प्रवद्र्धन गर्न मुलुकका सबै स्थानीय तह मध्ये पहिलो पटक दलित निति तथा कार्यविधि पास गरेको बताए ।
जातीय विभेद अन्त्यका लागि सहभोजले व्यवहारिक अभ्यास आवश्यक छ भन्ने सन्देश दिएको भन्दै सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको दलित अधिकारकर्मी बलराम शाहनीले बताए । आगामि दिनहरुमा यस्ता कार्यक्रम सदरमुकाम केन्द्रित मात्र नभएर ग्रामिण स्तरमा गएर त्यहाँका धामि झाँक्रिलाई समेत यस्ता कार्यक्रममा समावेश गरे अझै जातिय भेदभाव तथा छुवाछुत अन्त्यको लागि प्रभावकारी हुने उनको बिश्वास छ ।
अवसरमा अन्य सहभागीहरूले जातीय विभेद अन्त्यका लागि सबैको सोचाइसँगै व्यवहारमा पनि परिवर्तन आउन आवश्यक रहेको बताएका थिए । सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण कदम सहभोज भएको हुँदा जातीय विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नु पर्ने छायाँनाथ रारा नगरपालिकाका दलित हेल्प डेस्कमा कार्यरत कालिबहादुर नेपालीले बताए । जातमा होइन मानवतामा विश्वास गर्नु पर्ने, क्षमताका आधारमा सम्मान गर्नु पर्ने र छुवाछूतलाई व्यवहारमै अन्त्य नगरेसम्म यसको कुनै पनि अर्थ नहुने प्रमुख प्रशासकिय अधिकृत बिष्णु पौड्यालले बताए । सहअस्तित्व, सद्भाव र एकताको सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।