असार १८, मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावतमाथि चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ । चट्याङका कारण केही भेडा–बाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि कति संख्यामा पशुचौपाया मरेका हुन् भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय रंगबहादुर रोकायाले राति करिब ८ः३० बजे प्रहरी चौकी बड्कीमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।