• २०८३ जेष्ठ १८ गते सोमवार

प्रधानमन्त्री शाहले जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न एमालेको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । नेकपा एमालेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र आमनेपाली जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गर्दै माफी मागेर मार्फ प्रशस्त गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आमनेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

एमालेले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकार स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएको छ ।

साथै एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा २०७७ सालमा ऐतिहासिक तथ्य, प्रमाण, नापनक्सा तथा सन्धि–सम्झौताका आधारमा जारी गरिएको स्मरण गराउँदै उक्त नक्सालाई संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी संविधानको अनुसूचीमा समावेश गरिसकेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस