असार ३, काठमाडौं । कुनै पनि व्याट्सम्यानका लागि शतकको महत्व कति हुन्छ यो उनलाई मात्र होइन, सामान्य क्रिकेटपारखीलाई पनि उत्तिकै हुन्छ ।त्यसमाथि पनि एक रनले शतक बनाउन चुक्दा धेरैले ईश्वर निर्दयी बनेको भन्दै शतकबाट चुकेको खेलाडीप्रति सहानुभूति प्रकट गर्छन । हुनत यहाँ शतक बनाउन नदिने बलरको बहादुरीको पनि तारिफ हुनुपर्ने हो । तर यस मामिलामा क्रिकेट जहिले पनि व्याट्सम्यानहरुको पक्षमा नै उभिदै आएको छ ।

नेपाल ठूलो उत्साह बोकेर अहिले एक दिवशीय विश्वकप क्रिकेटको छनोटका लागि जिम्बाबे पुगेको नेपाली क्रिकेट टोलीले आज पहिलो खेल घरेलु टोली जिम्बाबे विरुद्ध खेलिरहेको छ । शानदार सुरुवात गरेको नेपालले पहिलो विकेट गुमाउँदा त्यो विकेट दुर्भाग्य कुशल भुर्तेलको नाममा रहयो । त्यसमाथि भुर्तेल ९५ बल खेलेर ९९ रनमा आउट हुनु धेरैले ईश्वर निर्दयी भएको टिप्पणी गरेका छन् ।
योसंगै एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने मौकाबाट चुकेका छन् । जिम्बावेविरुद्ध हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा नेपालले कुशललाई ९९ रनमा गुमाउँदा १ सय ७१ रन जोड्दा पहिलो विकेट खसेको थियो । यो एक दिवशीय अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी पनि बनेको छ ।
कुशलले ९५ बलको सामना गरी १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । जिम्बाबेका वेलिङटन मासाकाद्जाको हातबाट बोल्ड भएका कुशलले यस अघि नामिबियाविरुद्ध विश्वकप लिग २ मा१ सय १५ रन बनाएका थिए । नेपाल अहिले घरेलु टोली जिम्बाबेविरुद्ध ३६ ओभरको खेल चलिरहदा २ विकेटको खर्चमा १ सय ८७ रन बनाएर खेलिरहेको छ ।