मंसिर ६, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको आर्थिक गतिविधि विस्तार र पर्यटन प्रवद्र्धनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकारले ४४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ भने राष्ट्रिय खेलकुद परिषद्ले करिब ७२ करोड रुपैयाँ आवश्यक पर्ने प्रस्तावसहित तयारी अघि बढाएको छ ।

मंसिर ८ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, अतिथि र दर्शक सहभागी हुनेछन् । उनीहरूको आवास, खानपान, यातायात र अन्य सेवामा हुने खर्चले सुर्खेतसहित प्रतियोगिता आयोजना हुने जिल्लाको व्यापार व्यवसायमा कारोबार बढाउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी एक हजार ३३७ पदक वितरण गरिनेछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ७४० खेलाडी सहभागी हुनेछन् । उनीहरूमध्ये ३९४ महिला र ३४६ पुरुष छन् ।
कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले प्रतियोगिताले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए । उनका अनुसार ठूलो संख्यामा मानिसको आवागमन हुँदा होटल, रेस्टुरेन्ट, यातायात, खाद्यान्न र अन्य सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्नेछ । प्रतियोगितामा आउने पाहुनालाई कर्णालीका पर्यटकीय गन्तव्यसम्म पु¥याउन सके त्यसको लाभ थप विस्तार हुनेछ ।
सुर्खेतको काँक्रेविहार र बुलबुले, मुगुको रारा, डोल्पाको फोक्सुण्डो, जुम्लाको सिंजा, दैलेखको पञ्चकोशी र सल्यानको कुपिण्डे दहजस्ता पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने अवसर पनि प्रतियोगिताले दिनेछ । तर त्यसका लागि यातायात, आवास र भ्रमण प्याकेज तयार गरी खेलकुदसँग पर्यटनलाई जोड्नुपर्ने देखिन्छ ।
सात जिल्लामा हुने खेलमा दुई हजार सुरक्षाकर्मी परिचालन
प्रतियोगिताका ३२ खेल सात जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा सबैभन्दा धेरै २३ खेल आयोजना हुनेछन् । कर्णालीका दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि खेल सञ्चालन हुनेछन् । बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल आयोजना गरिनेछ ।
प्रतियोगिताको व्यवस्थापनका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार १५ खेलस्थलमा सीसीटीभीमार्फत निगरानी गरिनेछ । वीरेन्द्रनगरका मुख्य चोक तथा बजार क्षेत्रमा पनि दुई सयभन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
खेलाडी तथा पदाधिकारीको आवास, यातायात, स्वास्थ्य सेवा, पार्किङ र दर्शक व्यवस्थापनका लागि समेत विभिन्न निकायसँग समन्वय भइरहेको छ । यसले प्रतियोगिता सञ्चालनका क्रममा स्थानीय सेवा क्षेत्रको माग बढाउने अपेक्षा गरिएको छ ।
ठूलो आयोजनाबाट कर्णालीको छवि बदल्ने लक्ष्य
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले प्रतियोगितालाई कर्णालीको क्षमता र पहिचान स्थापित गर्ने अवसरका रूपमा लिएका छन् । उनका अनुसार कर्णालीमा ठूला कार्यक्रम आयोजना गर्न आवश्यक पूर्वाधार र सुविधा छैन भन्ने बुझाइलाई प्रतियोगिताको सफल आयोजनामार्फत चिर्न खोजिएको छ ।
‘कर्णालीमा ठूला कार्यक्रम गर्न सकिँदैन, यहाँ खाना, बसोबास र पानीजस्ता सुविधा छैनन् भन्ने भाष्य छ,’ उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद सफलतापूर्वक आयोजना गरेर कर्णालीले पनि ठूलो प्रतियोगिता व्यवस्थापन गर्न सक्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’
प्रतियोगिताको उद्घाटन मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । उद्घाटन समारोहमा कर्णालीका दसवटै जिल्लाको संस्कृति, भेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकी प्रस्तुत गर्ने तयारी छ । राउटे समुदायको नाचलाई पनि समारोहको आकर्षण बनाउने योजना छ ।
प्रतियोगितापछिको आर्थिक प्रतिफल मुख्य चुनौती
प्रतियोगिताका लागि निर्माण गरिएका खेल पूर्वाधारको दीर्घकालीन उपयोग सुनिश्चित गर्नु प्रदेश सरकारका लागि अर्को चुनौती हुनेछ । प्रतियोगिता सकिएपछि रङ्गशाला र अन्य खेल संरचना प्रयोगविहीन भए सरकारी लगानीको प्रतिफल सीमित हुनेछ । त्यसैले नियमित राष्ट्रिय तथा स्थानीय प्रतियोगिता, विद्यालयस्तरीय खेलकुद र प्रशिक्षण सञ्चालन गर्नुपर्नेछ ।
त्यस्तै, प्रतियोगिताबाट तत्काल बढ्ने व्यापारिक कारोबारलाई दीर्घकालीन पर्यटन आम्दानीमा रूपान्तरण गर्न निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक देखिन्छ । होटल, यातायात, खाद्यान्न आपूर्ति र पर्यटन व्यवसायलाई जोड्न सके स्थानीय उत्पादन तथा सेवाले समेत बजार पाउनेछन् ।
दशौँ राष्ट्रिय खेलकुदको आर्थिक सफलता प्रतियोगिता अवधिमा हुने खर्च र कारोबारमा मात्रै मापन हुने छैन । सरकारी लगानीबाट सिर्जित पूर्वाधारको उपयोग, निजी क्षेत्रको व्यवसाय विस्तार, पर्यटक आगमन र कर्णालीको पर्यटन पहिचानमा पर्ने दीर्घकालीन प्रभावले यसको वास्तविक प्रतिफल निर्धारण गर्नेछ ।