जेठ २८, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले, नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यान गएको बताएका छन् । आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै , प्रधानमन्त्री प्रचण्डले भने ‘नेपाललाई इन्जिनियरिङ, चिकित्साशास्त्र, सूचना एवम् डिजिटल प्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब’ बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यान गएको छ। अहिले मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको छ।’

त्यस्तै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तरमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यास र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् । ‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ। अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन।’ प्रधानमन्त्रीको भनाई उद्धतगर्दै उनको सचिवालयले भनेको छ
काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । आज थप १२०० विद्यार्थी दिक्षित भएका छन् । काठमाडौँ विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षितहरू ५५ भन्दा बढी मुलुकका विदेशी नागरिकहरू भएको बताइएको छ । केही वर्षयता नेपालमा विश्वविद्यालय स्थापनाको होडबाजी चलेको भन्दै प्रधानमन्त्रीले प्रदेश र केन्द्रीय सरकारबाट नयाँ विश्वविद्यालय खोल्नुअगावै स्थापना हुन लागेको विश्वविद्यालयका लागि साधनस्रोतको सुनिश्चित गर्नु आवश्यक रहेको बताए ।