• २०८३ जेष्ठ २४ गते आइतवार

राष्ट्रिय शहीद स्मारक छिटो सम्पन्न गर्न सहयोग गर्छु : मन्त्री यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

माघ १६, काठमाडौँ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ मा नेपाल सरकारको निर्णयअनुसार निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारक छिटो सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रिय शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णमा आयोजना गरेको कार्यक्रममा उहाँले अमर शहीदको सम्झनालाई चिरस्थायी बनाउन स्मारक निर्माणलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारको २०६४ साल जेठ ११ गतेको निर्णयअनुसार तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत २०६८ सालदेखि नै निर्माण भइरहेको स्मारक अझै सम्पन्न हुन सकेको छैन । विसं २०७२ मै स्मारक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि छ वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । वन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा निर्णयका लागि लगिएको आयोजनाको प्रस्ताव पछिल्लो समय वन विभागमार्फत नै सम्पन्न गर्ने निर्णय भएको छ । सामुदायिक वनको ६५० रोपनी जग्गामा शहीद, निजामती र घुन्सा हेलिकप्टर दुर्घटनामा परी निधन भएका वन एवं संरक्षण क्षेत्रका व्यक्तित्वको स्मृतिमा स्मारक बनाउने घोषणा गरिए पनि काम भने अलपत्र बनेको छ । राष्ट्रिय योजना आयोगले प्राथमिकता प्राप्त योजनाका रुपमा अघि बढाइएको स्मारक निर्माण १४ वर्षदेखि अलपत्र भए पनि सरकारको ध्यान जान सकेको छैन ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानले जातीय पर्वमा बिदा दिने तर राष्ट्रिय शहीद दिवसका अवसरमा विगतमा दिने गरिएको बिदासमेत यसअघिको सरकारले कटौती गरेकामा आपत्ति जनाउनुभयो । पछिल्लो समय राष्ट्रिय निकुञ्ज तथा आरक्षणको मध्यवर्ती क्षेत्रमा समेत बालुवा निकालेर वातावरण विनाश भइरहेका घटनामा मन्त्रालयले कारबाही गर्नुपर्ने उहाँको माग थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विसं २०६४ मै शहीदका नाममा स्मारक बनाउन रु ४२ करोड छुट्याएर काम गर्न खोजिएकामा निर्माण व्यवसायी भाग्ने, खोज्न समय लाग्ने, परिचालन (मोबिलाइजेसन) को १० प्रतिशत रकम लिएर अन्यत्र लगानी गर्दा पनि सरकारले कारबाही गर्न नसक्ने जस्ता कारणले काममा ढिलाइ भएको बताउनुभयो । भागेको निर्माण व्यवसायी खोज्न नै पाँच वर्ष लागेको उहाँले सुनाउनुभयो ।

पूर्वमन्त्री जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विदेश विभाग प्रमुख रकम चेम्जोङले राष्ट्रिय शहीद स्मारक देशभर रहेका शहीद उद्यानका पनि छाता संस्थाका रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । नेकपा समाजवादीका केन्द्रीय सदस्य गोपाल बरालले शहीदप्रति मुखले मात्र नभई व्यवहारले नै सम्मान गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले शहीद परिवारको अभिभावक राज्य बन्नुपर्ने बताउनुहुँदै कुन कुन आन्दोलनमा को को शहीद भएका हुन् भन्ने अभिलेख सरकारसँग हुनुपर्नेमा जोड दिनुभयो । शहीद परिवारले सामाजिक न्यायसमेत पाउन नसकेकाले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अहिलेको अवस्थासम्म आइपुग्दा हजारौँले बलिदानी दिएर शासन व्यवस्था परिवर्तन भए पनि सोच र संस्कारमा परिवर्तन हुन नसकेको बताउनुभयो । आयोजक समितिका अध्यक्ष सुदर्शन सिग्देलले काम सुरु भएको १४ वर्षमा पनि स्मारकको काम १४ प्रतिशतमात्र सम्पन्न भएकाले छिटो काम सक्न मन्त्रालयको सहयोग आवश्यक परेकामा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँकी सदस्य सान्नानी लामा, नेकपा (माओवादी केन्द्र)का विवेक फुयाँल, शहीद तथा बेपत्ता सन्तति प्रतिष्ठानका कुलदीप नेपाली लगायतका वक्ताले शहीदका नाममा माघ १६ गते एक दिन औपचारिक कार्यक्रम गरेर सपना बिर्सने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस