माघ १४, काठमाडौँ ।नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ३७ लाख ३४ हजार ३९० पुगेको छ ।
यस्तै अतिरिक्त खोप लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार ७२४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेका छन् । लक्षित जनसङ्ख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ । उमेर १ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने जानकारी सरकारले गराएको छ ।
२०७७ माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । नेपालमा कोरोनाविरुद्धको पहिलो पटक भित्रिएको कोभिसिल्ड खोप लगाएर खोप अभियान सुरु गरिएको थियो । सुरुमा खोप आउँदा नेपालमा प्रयोग गर्नका लागि मात्र खोप ल्याइएको हो भन्ने प्रचारले नागरिकलाई खोपप्रति आकर्षण थिएन । सर्वसाधारण मात्र नभई चिकित्सक, नर्सहरू पनि खोपप्रति विश्वस्त हुन सकेका थिएनन् ।खोपप्रति विश्वास दिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्चलगायतका सङ्घ, संस्थाहरूले खोप अभियान सफल बनाउन जनचेतना अभियान नै सुरु गरे । पहिलो पटक भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो ।
पछि नेपालले २० लाख खोप खरिद गर्दा भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सकेको थिएन । कोरोना महामारी बढ्दै गएपछि खोपप्रति नागरिकको आकर्षण नै बढ्दै गयो । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा अब कोरोनाबाट बच्न खोप मात्र विकल्प भएको भन्दै खोप लगाउन थालिएको थियो । पछिल्लो समय ठूलो शक्ति प्रयोग गरेर पनि नेपालमा खोप लगाउन थालियो । सुरुमा स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मीहरूलाई खोपको प्राथमिकतामा राख्दासमेत कतिपय पत्रकारले पनि खोप लगाउन मानेका थिएनन् । पछि सङ्क्रमण बढ्न थालेपछि खोप पाइएन र सर्वोच्च अदालतमा पत्रकारहरूले मुद्दा हालेर ‘खोप लगाउन दिनूू’ भन्ने आदेश सर्वोच्चले दिएको थियो । सर्वोच्चले आदेश दिए पनि खोप नभएका कारण खोप लगाउन पाइएको थिएन ।
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि खोप ल्याउन राम्रो प्रयास सुरु भयो र खोप पनि सहज बन्दै गयो । त्यो बेलाको अवस्था सम्झँदै स्वास्थ्य सचिव डा. रोशन पोखरेल स्वास्थ्यकर्मी पनि खोपप्रति विश्वस्त हुन नसकेको बताउनुहुन्छ । पहिले खोप लगाउन आइदिनुस्भन्दा कोही आउँदैन थिए, उहाँले भन्नुभयो, “अहिले खोपको महìव बढ्दै गएको छ, ठीक एक वर्षअघिको अवस्था र अहिलेको अवस्थामा खोपप्रति धेरै फरक धारणा छ ।”इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेल पनि पहिले स्वास्थ्यकर्मी नै विश्वस्त हुन नसकेको अवस्थामा सर्वसाधारण विश्वस्त हुन नसक्नु स्वाभाविक भएको बताउनुहुन्छ । उहाँले पछिल्लो समय खोपप्रतिको महìव बढ्दै गएको बताउनुभयो ।
खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले खोप लगाउन सुरुवाती अवस्थामा ठूलो चुनौती बेहोरेको बताउनुहुन्छ । कसैले पनि खोप नलगाइदिएर समस्या भएको भन्दै उहाँले पछिल्ला दिनमा खोपप्रति आकर्षण बढेको जानकारी गराउनुभयो । कोरोनाले मानिसको मृत्यु बढ्दै गएपछि र अत्यधिक सङ्क्रमित हुन थालेपछि खोपप्रति विश्वास बढेको उहाँको धारणा छ ।