• २०८२ साउन ३ गते शुक्रवार

लोकतन्त्र नेपालीको शासन हो, नेपाल अरु कसैले चलाउने होइन: अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र नेपाली जनताको सान भएको उल्लेख गर्दै नेपाललाई अरु कसैले चलाउने हिम्मत नगर्न चेतावनी दिनुभएको छ ।

संविधान दिवसको अवसरमा आज बिहान काठमाडौँमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने उल्लेख गर्नुभयो । कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा विद्वेष र तनावको विषय बनाउने कुचेष्टा भएको सम्झिनुभयो । अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं । नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भए । ती सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं ।’

अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको आरोप लगाउँदै उहाँले लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा जोड दिनुभयो । लोकतन्त्र, राष्ट्रियताको पक्षमा लाग्न आव्हान गर्दै ओलीले भन्नुभयो, ‘देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा मेरो अनुरोध लोकतन्त्र, राष्ट्रियताको पक्षमा, नेपालको सम्पूर्ण भूभाग हाम्रो हो, राष्ट्रिय अखण्डताको पक्षमा लाग्न आग्रह गर्छु । नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । नेपाली जनताको शासन हो । नेपाली जनता, लोकतन्त्र हार्न हुँदैन, विकास हार्न हुँदैन, सुशासनको प्रयास हार्न हुँदैन ।’

प्रतिक्रिया दिनुहोस