• २०८३ भाद्र २१ गते आइतवार

भोटेकोशी बाढीः एक हजार ३५३ शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २१, काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष, २३९ महिला सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस