माघ ३,विराटनगर।विराटनगरको भेडियारीमा भएको दाबी गरिरँदै आएको ‘विराट राजा’को दरबार क्षेत्रमा पुनः उत्खनन् सुुरु गरिएको छ । उत्खननमा पुरातत्व विभागका पाँचजना सदस्यको टोली खटिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित भेडियारी पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा टोली खटिएको छ ।

पहिलो चरणमा स्थानीयले संरक्षण गरेर राखेको दाबी गरिदैं आएको क्षेत्रमा उत्खनन् सुरु गरिएको छ । यो क्षेत्रमा प्राचीन समयको संरचना भएको प्रस्ट भएको बताउँदै भने, “हालसम्मको उत्खननमा ईटा र झिंगटीमात्र फेला परेको छ । त्यसबाहेक नयाँ कुरा फेला परेको छैन ।”
टोलीले यो क्षेत्रमा विराटराजाको दरबार भएको बारे थप अनुसन्धान गर्ने जनाएको छ । भेडियारी पुरातात्विकस्थल ठूलो क्षेत्रफलमा फैलिए र अहिले उत्खनन भइरहेको स्थलबाट दक्षिण भारततर्फ पनि थप संरचना हुनसक्ने आँकलन गरिएको छ । उत्खनन् भइरहेको स्थल २४ सय वर्ष पुरानो आयात आकारको मन्दिरको संरचना भएको हुनसक्ने अनुमान गरिएको छ । “आयात आकारको संरचनाको जग भेटिसकेको छ । अझ तल माटोमुनि थप वस्तु भेटिने संभावना कम छ,” ज्ञवालीले भने । मन्दिर नभिएको स्थलको लम्बाई, उचाई, चौडाई आदि विषय अध्ययन गरिने उनले सुनाए ।
२०२७ सालमा पनि यो क्षेत्रको उत्खनन भएको थिो । त्यसबेला पञ्चमार्क सिक्का फेला परेको थियो । ती सिक्का इसापूर्व ५ देखि १० मा भारत वर्षमा चलेको विश्वास गरिन्छ । यो क्षेत्र प्राचीन सभ्यताको थलो भएको मानिन्छ । पञ्चमार्क सिक्का भेटिएको विषयलाई थप पुष्टि गर्न विभिन्न चार क्षेत्रबाट विभिन्न किसिममा नमूना संकलन गरी त्यसको वैज्ञानिकता परीक्षण गरेर समय र मितिबारे आंकलन गर्ने टोलीले जनाएको छ ।
विभिन्न समयमा भेटिएका वस्तु संरक्षण समितिको नाममा सुरक्षित गरेर राखिएको छ । पाँच कठ्ठा क्षेत्रलाई पर्खाल लगाएर सुरक्षित राखिएको छ । गत वर्ष बेलायतबाट आएको विज्ञ टोली यो क्षेत्रमा अध्ययन गरेको थियो ।
पुरातत्वको टोलीले १८ दिनसम्म अध्ययन तथा उत्खननलाई निरन्तरता दिने बताइएको छ ।
विराटनगर महानगरपालिकाले भेडियारीको करिब १२८ विगाह क्षेत्रलाई सरंक्षणसहित पुरानो संरचनाको परिकल्पना दिने गुरु योजनाअनुसार नयाँ संरचना बनाउने परियोजना अघि सारेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पारजुली भन्छन्, “हामीले विस्तृत परियोनजाको खाका तयार गरिसकेका छौं । यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउने योजना छ ।” विराटनगरमा पर्यटनको प्रभाव बढाउनको लागि पनि विराट राजाको दरबार क्षेत्र महत्वपूर्ण हुने पराजुलीको दाबी छ ।