• २०८३ बैशाख ३० गते बुधवार

महाभियोग प्रकरण : एमाले संसदीय दलको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सत्ता गठबन्धनले महाभियोग लगाएपछि त्यसबारे आधिकारिक धारणा बनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो। एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठक सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने जानकारी दिए।

एमालेले प्रधानन्यायाधीश राणासहित परमादेश दिने पाँचै जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने बताउँदै आएको छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानन्यायाधीशलाई मात्रै नभई पाँचै जना न्यायाधीश हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए। एमाले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलामा संलग्न अन्य चार न्यायाधीशलाई पनि महाभियोग लगाउन कदम चाल्न सक्ने देखिएको छ। जसमा न्यायाधीशहरू दीपककुमार कार्की (कायममुकायम प्रधानन्यायाधीश), मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा छन्। यसबारे संसदीय दलको बैठकमा छलफल हुनेछ।

यस्तै बैठकले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याएर सभामुख हटाउन कदम चाल्न सक्ने पनि बताइएको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई नहटाएको भन्दै एमालेले सभामुखप्रति असन्तुष्टि जनाउँदै आएको छ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो। गठबन्धनको कदमले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेको ठहर बैठकले गरेको उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए। महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा बिथोल्ने, अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाभियोग प्रस्ताव दर्ता भएको आरोप महासचिव पोखरेलले लगाए। ‘समग्रमा भन्नुपर्दा यो कदम लोकतन्त्रमाथिको प्रहारका रूपमा र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रहारका रूपमा लिएका छौं’, महासचिव पोखरेलले भने, ‘पार्टीका तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्न आवश्यक छ भन्ने निश्कर्ष निकालेका छौं।’

प्रतिनिधिसभा २ सय ७५ सदस्यीय हो। ४ जना निष्कासनमा परेका कारण २७१ सदस्य कायम छ। यसको दुईतिहाइ १ सय ८१ हुन्छ। एमालेबाहेक दल मिल्दा १ सय ७३ मत मात्रै पुग्छ। जसमा ४ जना निलम्बनमा छन्। यो पनि घटाउँदा १ सय ६९ कायम हुन्छ। १२ मत अपुग हुने देखिन्छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ (सभामुखबाहेक), एकीकृत समाजवादीका २३ गरी १ सय ३२ पक्षमा देखिएका छन्। प्रतिनिधिसभामा एमालेका ९८ सांसद छन्।

Sharing

प्रतिक्रिया दिनुहोस