• २०८३ बैशाख ३० गते बुधवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १५ मिनेट

वैशाख ३०, काठमाडौं ।  आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको छ । बुधबार आयोग परिसरमा आयोजित कार्यक्रममा केन्द्रका सचिवले प्रतिवेदन प्रमुख आयुक्त समक्ष बुझाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख आयुक्त प्रेम कुमार राईले कानुनअनुसार समयमै प्रतिवेदन पेस गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई धन्यवाद दिए । उनले सम्पत्ति विवरण नबुझाउने कार्यालय प्रमुखलाई जिम्मेवार बनाउनुपर्ने र यसको मूल्याङ्कन कार्यसम्पादनसँग जोडिनु आवश्यक रहेको बताए। त्यसैगरी उनले अवकाशमा जाने कर्मचारीले अवकाशपत्र लिनुअघि नै सम्पत्ति विवरण अनिवार्य भर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । साथै सातै प्रदेश र मन्त्रालय तहमा सम्पत्ति विवरण भर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । उक्त अवसरमा ७ भाग र ४ वटा अनुसूची सहित कुल २९८ पृष्ठको प्रतिवेदन पेस गरिएको थियो। केन्द्रका सचिवले प्रतिवेदनका मुख्य विवरणबारे जानकारी गराएका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय तहमा सम्पत्ति विवरण बुझाउने दायित्व भएका कुल ७ लाख ६७ हजार २२८ जनामध्ये ७ लाख ६२ हजार ३३ जनाले समयमै विवरण बुझाएका छन्, जुन करिब ९९.३२ प्रतिशत हो । बाँकी ५ हजार २६५ जनाले तोकिएको समयभित्र विवरण नबुझाएको प्रतिवेदनमा उल्लेख छ । तीन तह मध्ये प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउनेको दर सबैभन्दा बढी १.९४ प्रतिशत रहेको देखिएको छ । प्रतिवेदनले पछिल्ला वर्षहरूमा सम्पत्ति विवरण नबुझाउनेको संख्या घट्दै गएको पनि देखाएको छ । समयमै विवरण नबुझाउने सार्वजनिक पदधारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने आयोगले जनाएको छ ।

२- नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखा सूचना जारी गर्दै अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले ऐन, नियम, विनियम, कार्यविधि तथा शर्तअनुसार सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने जनाएको हो । हालका दिनमा सेवा गुणस्तर कमजोर भएको भन्दै उपभोक्ताबाट गुनासो बढ्दै गएको प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणको इमेल, गुनासो व्यवस्थापन प्रणाली तथा नेपाल सरकारको ‘हेलो सरकार’ पोर्टलमार्फत दूरसञ्चार सेवासम्बन्धी उजुरी उल्लेख्य रूपमा बढेको जनाइएको छ। प्राधिकरणले उपभोक्ताको हकहित संरक्षण हुने गरी प्राप्त गुनासा तथा उजुरी यथाशीघ्र समाधान गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ। साथै जिम्मेवारीअनुसार गुणस्तरीय सेवा प्रवाह नगरी प्राधिकरणमा निरन्तर गुनासो आए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको बेइजिङ विमानस्थलमा भव्य स्वागत गरिएको छ, जसमा विशेष सम्मान र औपचारिक कार्यक्रम राखिएको थियो। ट्रम्पको चीन भ्रमणलाई उच्च महत्व दिएको संकेतस्वरूप उनको स्वागतमा उपराष्ट्रपति हान झेङ विमानस्थलमा उपस्थित भएका थिए । हानलाई सीका विशेष कूटनीतिक प्रतिनिधिका रूपमा हेरिन्छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निर्णय गर्ने निकायका पूर्व सदस्यसमेत हुन् । गत वर्ष उनले ट्रम्पको राष्ट्रपतीय सपथ समारोहमा पनि सहभागिता जनाएका थिए । ट्रम्पको स्वागतका लागि चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यु, अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ तथा चीनका कार्यकारी उपविदेशमन्त्री मा झाओशु पनि विमानस्थलमा उपस्थित थिए । विमानस्थलमा करिब ३०० चिनियाँ युवायुवती निलो र सेतो पोशाकमा हातमा चिनियाँ झण्डा बोकेर स्वागतका लागि उभिएका थिए । त्यहाँ सैनिक सम्मान गारद र सैनिक बाजा टोलीको समेत व्यवस्था गरिएको थियो । राष्ट्रपति सी चिनफिङले बिहीबार बिहान स्थानीय समयअनुसार ट्रम्पलाई औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको छ ।

४- नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिका प्रसाद भट्टले राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । भट्टलाई उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न लगातार निर्देशन दिएपछि राजीनामा दिएको बुझिएको छ । भट्ट २०८० फाल्गुन ६ गते निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि पनि उनी २०७० जेठदेखि २०७१ मंसिरसम्म प्रबन्ध निर्देशकको रुपमा काम गरेका थिए । निगममा स्वचालित मूल्य प्रणाली सुरु भट्टकै पहलमा भएको थियो ।

५- नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै, उपभोक्ताको तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतः पहिलोपटक भएको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो । दीर्घायू कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका थिए । काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए ।

६- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको तेस्रो बैठक पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आजको बैठक स्थगित गरेका हुन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले आज बसेको तेस्रो बैठक पनि अवरोध गरेका थिए । उनीहरुले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका कुरा सुन्नुपर्ने माग राख्दै संसद अवरोध गरेका थिए । यसअघि दोस्रो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस भन्ने प्रस्ताव पेश गर्न दिएका थिए । तर त्यसपछि छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै बैठक अवरोध गरिएको थियो । अब बैठक विहिबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।

७- नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरिएको छ । सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन् ।जस अनुसार काँग्रेसको अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरुमा केन्द्रीय सदस्य धना खतिवडा, केन्द्रीय सदस्य रमेशप्रसाद धमला र केन्द्रीय सदस्य बजरंग नेपाली रहेका छन् । यसअघि अनुशासन समितिमा रहेका सदस्य सुवासकुमार पोखरेललाई हटाइएको छ ।

८- प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम संखुवासभाका प्रकाश अधिकारी सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यसअघि सभामुखकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका तत्कालिन सचिव हर्कराज राईलाई बर्खास्त गरेका थिए ।

९- सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सह–लेखापाल खड्कबहादुर रानासमेतको मिलेमतोमा राजस्व रकम हिनामिना गरिएको पुष्टि भएको हो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर कवल तथा जग्गा भाडाबाट उठेको चार करोड १८ लाख चार हजार ३०३ राजस्वमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र बैंकमा दाखिला गरिएको पाइएको आयोगले जनाएको छ । बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरिएको आरोप लगाइएको छ । आयोगका अनुसार प्रतिवादीहरूले उक्त रकम बैंकमा दाखिला भएको देखाउन गलत आय–व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदनसमेत गराएका थिए । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै प्रतिवादीहरूमाथि कानुनअनुसार सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

१०- नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा मंगलबार बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएको जानकारी दिएका हुन् ।सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् । सभामुखले अर्यालले थापाले संसदमा बोलेका शब्दहरू- ‘ सभालाई अराजकहरूको भिड, राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू र नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको जानकारी गराएका छन् । बादलले मंगलबारको आफ्नो सम्वोधनमा नेपाली सेनाको भूमिका माथि प्रश्न गर्दै देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ? भन्ने जस्ता प्रश्न गरेका थिए ।

११- नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०. २५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका ५६ लाख ४३ हजार २८८ कित्ता शेयर २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एशियन हाइड्रोको शेयरमा ११.४२ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ११.१७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाईप्यानलको २७ करोड ७९ लाखको कारोबार भएको छ भने रिढी पावरको ९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

१२- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकार र नेतृत्वप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसँग समन्यवमा भए नभएको बारे प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘के हुँदैछ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ ? प्रधानमन्त्री ।’ शर्माले संसदीय व्यवस्था आफैंमा सुन्दर नहुने उल्लेख गर्दै त्यसको प्रभाव राजनीतिक दल र नेताहरूको व्यवहारमा निर्भर रहने बताएका छन् । उनले ‘फागुन २१’ को विश्वास भत्काएर नागरिकमा निराशा फैलाउने कामबाट प्रणाली र देशको हित नहुने टिप्पणी गरेका छन् ।

१३- तमिलनाडु विधानसभामा मुख्यमन्त्री विजय नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको छ । सदनमा उपस्थित १७१ सांसदमध्ये सरकारको पक्षमा १४४ मत परेको हो । यो बहुमतका लागि आवश्यक मतभन्दा ५८ बढी हो । सरकारको पक्षमा परेको मतमध्ये ४७ सांसद रहेको अन्ना द्रविड मुनेत्र कडगम (एआइएडिएमके) का २५ बागी सांसदको समर्थन गरेका थिए । विश्वासको मतको विपक्षमा २२ मत परेको थियो । ५९ सांसद रहेको द्रविड मुनेत्र कडगम (डिएमके) ले मतदानअघि सदनबाट बहिर्गमन गरेको थियो । यसैबीच, पाट्टाली मक्कल काचीका ४ तथा भारतीय जनता पार्टीका १ सांसद अनुपस्थित रहे । सभामुखले मतदानमा भाग लिएनन् भने विजय नेतृत्वकै एक सांसदको मुद्दा उच्च अदालतमा रहेकाले उनी मतदानमा सहभागी हुन नसकेको बताइएको छ । क्रस मतदानसँगै एआइएडिएमके विभाजन उन्मुख भएको छ । पार्टी पलानीस्वामी र सीभी षण्मुगम समूहमा विभाजित भएको बताइएको छ । सदनमा प्रतिपक्षका नेता उदयनिधि स्टालिनले विजयले बागी सांसदहरूसँग गरेको भेटबारे प्रश्न उठाएका थिए । उनले यो परिवर्तन हो वा राजनीतिक सौदाबाजी भन्दै सरकारमाथि टिप्पणी गरेका थिए । यसको जवाफमा मुख्यमन्त्री विजयले आफ्नो सरकार धर्मनिरपेक्ष ढंगले तीव्र गतिमा काम गर्ने र कुनै पनि प्रकारको सांसद किनबेचमा संलग्न नहुने बताएका थिए ।

१४- श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन् । संसद भवन बाहिर प्रतिक्रिया दिदै उनले भने- ‘प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो । हाम्रो र जनताको धेरै प्रश्नहरु छन् ।’ उनले सरकारले मनलाग्दी रुपमा संसद चलाइरहेको समेत आरोप लगाउदै नीति तथा कार्यक्रमको छलफलमा पनि पर्याप्त समय नदिएको र संसदमा प्रस्तुत गर्नुपर्ने प्रधानमन्त्री नै अनुपस्थित भएको टिप्पणी गरे । उनले सरकारको नीति तथा कार्यक्रम सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएपछि संसद भित्रै प्रधानमन्त्रीको राजीनामा माग्दै नारावाजी समेत गरेका थिए ।

१५- वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा पाँच जना आरोही तथा पथप्रदर्शकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमाल आरोहण तथा जिम्मेवारी निर्वाहका क्रममा पाँच जना आरोही तथा पथप्रदर्शकको असामयिक निधन भएका हो । जस अनुसार सगरमाथा क्षेत्रमा तीन जना र मकालु हिमाल क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका पथप्रदर्शक लाक्पा डेण्डी शेर्पा, विजय घिमिरे र फुरा गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै चेक गणतन्त्रका डेभिड रुबिनेक तथा अमेरिकाकी जोहान्सेन सेलीको पनि मकालु हिमाल क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ । विभागका अनुसार लाक्पा डेण्डी शेर्पाको बैशाख २० गते सगरमाथा आधार शिविर नजिक मृत्यु भएको थियो । विजय घिमिरेको बैशाख २७ गते सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा तथा फुरा गेल्जेन शेर्पाको बैशाख २८ गते सगरमाथा बेस क्याम्प क्षेत्रमा निधन भएको उल्लेख छ । त्यसैगरी डेभिड रुबिनेकको बैशाख २१ गते मकालु हिमालको करिब ८ हजार ३ सय मिटर उचाइमा तथा जोहान्सेन सेलीको बैशाख २८ गते मकालु हिमाल क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ ।

१६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । चितवनमा आगामी असार ७, ८ र ९ गतेसम्म हुने पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने केन्द्रीय समितिको बैठकले तय गरेको रास्वपाका नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । त्यस्तै बैठकले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ । बैठकले वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । बैठकले ७७ वटै जिल्लामा समन्वयका लागि प्रतिनिधि तोकिएको छ । यस्तै जेठ २६ गते बागमतीको प्रदेश अधिवेशन, जेठ २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी प्रदेश ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । रास्वपाको जिल्ला अधिवेशन यसअघि नै भइसकेको छ । त्यस्तै बैठकले सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर तोकेको छ भने पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार उम्मेदवारी शुल्क तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो । निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो । स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन् । हाल बालेन्द्र शाह वरिष्ठ नेता, डा.स्वर्णिम वाग्ले उपसभापति, कविन्द्र बुर्लाकोटी महामन्त्री, भूपदेव शाह महामन्त्री, विपिनकुमार आचार्य सहमहामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ्ग सहकोषाध्यक्ष रहेका छन् ।

१७- मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्बजनिक गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् । बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ भने भूमिसम्बन्धी २१ औँ संशोधन नियम २०८३ स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन् ।

१८- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बिहान पक्राउ गरेको हो । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको विषयमा पाण्डे अनुसन्धानको दायरामा आएका थिए । स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले गत वर्षको असोजमै ४ अर्ब ६० करोडमा एनसेललाई लिलाम विक्री गरेको थियो । यस प्रकरणमा यसअघि नै वैशाख २१ मा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको थियो भने बैशाख २५ गते स्मार्ट टेलिकमकै पलिना श्रेष्ठ र नरेन्द्र उलाक पक्राउ परेका थिए । स्मार्ट टेलिकम नवीकरण नगरेका कारण २०८० वैशाखदेखि बन्द रहेको छ । नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आउनुपर्ने स्मार्ट टेलिकमका उपकरण गैरकानुनी ढङ्गले लिलाम बिक्री गरेको प्रहरीको निष्कर्ष रहेको छ । स्मार्ट टेलिकमले नेपाल सरकारलाई करिब सात अर्ब राजस्व तथा अन्य विभिन्न दायित्व बुझाउन बाँकी रहेको समेत पाइएको छ ।

१९- बेलायतका प्रधानमन्त्री किर स्टार्मर नेतृत्वको सरकार संकटमा परेको छ । गत हप्ताको स्थानीय चुनावमा लेबर पार्टीको ठूलो हारपछि देशको नेता विरुद्ध बढ्दो प्रतिक्रियाको बीचमा आजसम्म चार मन्त्रीहरूले प्रधानमन्त्री केयर स्टारमरको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छन्। गृह कार्यालय मन्त्री जेस फिलिप्स, विकास, विश्वास र समुदाय मन्त्री मियाट्टा फानबुलेह र महिला तथा केटीहरू विरुद्ध हिंसा पीडित तथा निवारण मन्त्री एलेक्स डेभिस-जोन्सले विगत केही घण्टामा आफ्नो राजीनामा बुझाएका छन्। चौथो श्रम मन्त्री डा. जुबिर अहमदले मूल्यमान्यतामा आधारित नेतृत्वको अभाव भएको भन्दै केयर स्टारमरको सरकारबाट राजीनामा दिएका छन् । अर्कोतर्फ १०० भन्दा बढी लेबर सांसदहरूले पार्टी नेतृत्व प्रतिस्पर्धाको विरुद्ध चेतावनी पत्रमा हस्ताक्षर गरेका छन् । डाउनिंग स्ट्रिटद्वारा आयोजित नगरिएको भनिएको उक्त पत्रले विद्रोहको सामना गरिरहेका प्रधानमन्त्री केयर स्टारमरलाई समर्थन गर्न लेबर संसदका सदस्यहरूलाई आग्रह गरिरहेको छ । ब्रिटिश सञ्चारमाध्यमका अनुसार लेबर पार्टीका अन्य केही वरिष्ठ नेताले पनि स्टार्मरको राजीनामा माग गरिरहेका छन् । यता स्वास्थ्य सचिव वेस स्ट्रीटिंगलाई स्टार्मरका प्रमुख चुनौतीकर्ताका रूपमा हेरिएको छ । सन् २०२४ मा पहिलो पटक सांसद निर्वाचित भएकी फाहनबुले सोही वर्ष सरकारमा सहभागी भएकी थिइन् । उनले सरकारका केही नीतिप्रति असन्तुष्टि जनाउँदै जाडो इन्धन सहायता र अपाङ्गता भत्तामा गरिएको कटौतीले जनविश्वास कमजोर बनाएको टिप्पणी गरेकी छन् । राजीनामा पत्रमा उनले प्रधानमन्त्री स्टार्मरले जनताको भरोसा गुमाएको उल्लेख गर्दै देश र पार्टीको हितका लागि नेतृत्व परिवर्तनको स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरेकी छन् ।

२०- गुजरात टाइटन्सले जारी आइपिएलमा सनराइजर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ८२ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछाएको सनराइजर्स १४.५ ओभरमा अल आउट हुदै ८६ रन मात्र बनाएको थियो । सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक १९ रन बनाए भने सलिल अरोराले १६ र हेइनरिच क्लासेनले १४ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले ३-३ र प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र रशिद खानले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ६१, वाशिंटन सुन्दरले ५० र निशान्त सिन्धुले २२ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर प्रफुल हिंगे र सकिब हसनले २-२ विकेट लिएका थिए । यो जितपछि गुजरात अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । गुजरातको १२ खेलमा १६ अंक रहेको छ । त्यस्तै सनराइजर्सको भने १२ खेलमा १४ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । जारी आइपिएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस