चैत २४, काठमाडौं । राजनीतिमा महिला प्रतिनिधित्व बढाउन सरोकारवाला दलहरूका नेतृत्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले हाल दलहरूबीच जारी गठवन्धनको माहोलले राजनीतिमा महिला प्रतिनिधित्वमा कमी आउन सक्ने भन्दै राजनीतिक दलका नेतृत्वहरूलाई स्थानीय तहको निर्वाचनमा ३३ प्रतिसत महिला अनिवार्य महिलाको प्रतिनिधित्व हुने वातावरण सुनिश्चित गराउन दबाब दिनुपर्ने बताएका हुन् ।
सो अवसरमा प्रतिनिधी सभा सदस्य सरिता न्यौपानेले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदका उम्मेदवारी दिन राजनीतिक दलले सहयोग र हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न राजनीतिक दलको नेतृत्व सम्हालेका र विगतको निर्वाचनबाट प्रमुख र उपप्रमुखको भुमिकामा राम्रो काम गरेर जनताको मन जितेर महिला नेतृहरूले सावित गरेकाले उहाँहरूलाई अब प्रमुखको भुमिकामा पुग्न सक्ने गरी दलले टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले एकै दल निर्वाचनमा सहभागी हुँदा प्रमुख र उपप्रमुखमध्ये एक महिलालाई दिनुपर्ने वाध्यकारी प्रावधान गठवन्धन गर्दा लागु भएन भने महिलाको प्रतिनिधित्व स्वतः घटेर जाने सम्भावना रहने बताउनुभयो । उहाँले आयोगले दलगत आधारमा नभई जुनसुकै दलबाट प्रतिनिधित्व भएपनि संविधानले नै निश्चित गरेको कम्तिमा हरेक तहमा ३३ प्रतिसत महिलालाई नेतृत्व दिनुपर्ने र सङ्ख्यात्मक हिसामा त्यो भन्दा पनि बढि प्रतिनिधित्व हुने गरी दबाब, सुझाव सम्वन्धीत ठाउँसम्म पु¥याउने बताउनुभयो । कार्यक्रममा नेपाल बोसिया सङ्घका अध्यक्ष गोमा पौडेलले विश्वव्यापी कोरोना महामारीपछि करिब दुई वर्षपछि खेलाडीहरू बोसिया खेलमा सहभागी हुन पाएर खुसी भएको बताउनुभयो ।
त्यसैगरी सङ्घका महासचिव देवु पराजुलीले खेलकुदमार्फत अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा सङ्घले जोड दिदै आएको बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिको शारिरीक, मानसिक शान्तिका साथै मनोरञ्जन, एकअर्कालाई देखेर केही सिक्ने र प्रेरित हुने अवसर पाउने बताउनुभयो । बोसिया खेलमा सहभागी खेलाडी सीता ढकालले हरेक महिनामा बोसिया खेल खेल्ने अवसर प्रदान गर्न माग गर्नुभयो ।