भदौ, १४ काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु उपस्थित छन्।
शीर्ष नेताबीच मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालनको विषयमा केन्द्रित भएर छलफल केन्द्रित रहेको छ। देउवाले विश्वासको मत पाएपनि डेढ महिना समय बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) सहभागी छ। अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।