• २०८३ जेष्ठ २५ गते सोमवार

अक्सिजनको अभाव हुँदैन, सबै नागरिकलाई खोप दिलाउने अभियानमा छौं : राज्यमन्त्री मानन्धर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १२, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव नहुने बताउनुभएको छ । काठमाडौैको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पतालको शुभारम्भ गर्दै मन्त्री मानन्धरले अक्सिजनको अभाव समाधान उन्मुख रहेको दाबी गर्नुभयो ।

महामारिको दोस्रो लहर उत्कर्षमा केही दिन पुग्दा अक्सिजनको चरम अभाव देखिए पनि सरकारले निरन्तरको प्रयासपछि समस्या समाधानउन्मुख भएको मानन्धरको दाबी छ । मन्त्री मानन्धरले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने अभियानमा सरकार केन्द्रीत भएको दाबी गर्दै अमेरिका, बेलायत, भारत र चीनलगायतका देशहरुसँग खोप उपलब्धताबारे निरन्तर संवाद भइरहेको बताउनुभयो ।

मन्त्री मानन्धरले जेठ तेस्रो साताभित्र खोप आयातका लागि ठोस पहल भइसक्ने बताउँदै केही महिना भित्र सबै नेपालीलाई खोप लगाउनसक्नेगरी सरकारले पहल गरिरहेको दाबी पनि गर्नुभयो। मन्त्री मानन्धरले कोरोनाविरुद्धको अभियान अन्तरगत नेपाल दक्षिण एसियामै खोप लगाउने अग्रणी मुलुकमध्ये रहेको दाबी पनि गर्नुभयो । कोरोना महामारी नियन्त्रणमा संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपुर्ण रहेको बताउँदै मन्त्री मानन्धरले ७० वर्षे राजनीतिक कालखण्डमा बनेका सरकारमध्ये वर्तमान सरकार नै जनताप्रति सबैभन्दा जिम्मेवार देखिएको दाबी समेत गर्नुभयो ।

कोरोना महामारीले निम्त्याएको समस्या समाधानमा सरकारले सबै शक्ति प्रयोग गरेको बताउँदै मन्त्री मानन्धरले निषेधाज्ञाको पालना गरेर साथ दिन सर्वसाधारणलाई अपिल समेत गर्नुभयो । कोरोना संक्रमित र महामारीका कारण समस्यामा परेका सर्वसाधारणलाई राज्यले बवश्यक सहयोग र समन्वय गर्ने बताउँदै मन्त्री मानन्धरले समस्यामा परेकाले जनप्रतिनिधिसँग सम्पर्क राख्न अनुरोध समेत गर्नुभयो ।

महामारी नियन्त्रण र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बेला केही राजनीतिक दल र नेकपा एमालेकै केही नेताहरुमा विचलन देखिएको बताउँदै मन्त्री मानन्धरले जनता पीडामा परेका विचलिन बनेकालाई माफी दिन नसकिने बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र कोरोना उपचारका लागि व्यवस्थापन सहज पारिएको बताउँदै नागरिकलाई उपचारमा समस्या हुन नदिने प्रतिवद्वता जनाउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस