कात्तिक ३, काठमाडौं । नाट्यकर्मी तथा शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजका लागि दशैँ बाल्यकालको रमाइलो सम्झनाबाट अहिलेको सामाजिक तथा आर्थिक यथार्थसँग जोडिएको पर्व बनेको छ। बाल्यकालमा दशैँ भन्नासाथ बिदा, परिवार, रङ्ग, पिङ र साथीभाइ सम्झने गरेको उनी बताउँछन्। अहिले भने सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनले दशैँको रमाइलोपनको परिभाषा नै साँघुरो बनाएको उनको अनुभव छ।

यस वर्ष लामो समयदेखि व्यस्त रहेका युवराज दशैँलाई परिवारसँग समय बिताउने र लेखनको काम पूरा गर्ने अवसरका रूपमा लिँदै छन्। नाटक मञ्चनका लागि काठमाडौं बाहिरसमेत यात्रा गर्नुपरेकाले दशैँको बिदामा केही समय आराम गर्ने, बुवा–आमा र श्रीमतीसँग बस्ने तथा लेखनलाई पूर्णता दिने उनको योजना छ ।
उनको बाल्यकाल संयुक्त परिवारमा बितेको थियो । ११–१२ वर्षको उमेरसम्म १७–१८ जनाको परिवारमा सबैभन्दा कान्छो सदस्य भएकाले सबैको माया पाउने गरेको उनी सम्झन्छन्। गाउँमा विभिन्न खुला ठाउँमा तीन–चारवटा पिङ हुन्थे । दशैँदेखि तिहारसम्म पिङ खेल्ने र देउसीभैलोमा सहभागी हुने उत्सवपूर्ण वातावरण हुन्थ्यो।
असोज–कात्तिकको पारिलो घाम, फूलहरूको बास्ना, चराचुरुङ्गीको चिरबिर र गाउँको बदलिएको वातावरणले बाल्यकालीन दशैँलाई अझ विशेष बनाउने गरेको उनको भनाइ छ।
तर अहिले दशैँ अत्यधिक खर्चिलो र देखावटी बन्दै गएको उनी बताउँछन्। पहिले सामान्य लुगा र घरमै पकाएको खानेकुराले ठूलो खुसी दिन्थ्यो । अहिले भने मानिसको तृष्णा नमेटिने र एकपछि अर्को सामग्री किन्ने प्रवृत्ति बढेको उनको बुझाइ छ ।
बाल्यकालमा दशैँको दक्षिणाबाट नयाँ लुगा वा आफूलाई मन परेको पेन र डायरी किन्ने गरेको स्मरण गर्दै युवराजले नयाँ नोट गन्ने, कसले कति दक्षिणा दियो भनेर हिसाब राख्ने र मामामध्ये कसले धेरै पैसा दिन्छ भन्ने अनुमान लगाउने बालसुलभ रमाइलो पनि सुनाए। तर अहिले फर्केर हेर्दा दक्षिणालाई नै खुसीको मुख्य आधार बनाउनु उपयुक्त नभएको उनी बताउँछन्।
घिमिरेका अनुसार यस वर्षको दशैँ विशेषगरी आर्थिक दृष्टिले सादा हुनुपर्ने आवश्यकता छ । जेनजी आन्दोलनपछिको आर्थिक क्षति र त्यसपछि आएका बाढीपहिरोजस्ता घटनाले समाजलाई असर पारेको उल्लेख गर्दै उनी चाडपर्वमा अत्यधिक खर्च गर्ने प्रवृत्तिले आर्थिक सङ्कट थप बढाउन सक्ने बताउँछन् ।
दशैँका लागि नयाँ लुगा, घर रङ्गाउने, प्रशस्त खानेकुरा किन्ने र देखासिकी गर्ने चलनले परिवारमाथि आर्थिक बोझ थप्ने उनको भनाइ छ। त्यसैले चाडपर्वलाई आर्थिक प्रतिस्पर्धा नभई परिवारसँग खुसी साटासाट गर्ने अवसरका रूपमा लिनुपर्ने उनी बताउँछन्।
पशुबलिबारे घिमिरे युवराजको धारणा पनि स्पष्ट छ । आफूले २१ वर्षदेखि मासु खान छाडेको बताउँदै उनी पशुहत्या र त्यसको विभत्स दृश्यले उत्सवको अर्थलाई नै प्रश्न गर्ने धारणा राख्छन् । कसैले मासु खानुलाई गलत नभने पनि चाडपर्वका नाममा गरिने काटमारको तरिका परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
दशैँको सांस्कृतिक पक्षलाई स्वीकार गर्दै उनले राजनीतिक र सामाजिक आयामबारे पनि बहस गर्नुपर्ने बताए । दशैँलाई सबै नेपालीको महान् चाड भनिँदै आए पनि सबै समुदायले एउटै तरिकाले मनाउँछन् भन्ने मान्यता सही नहुने उनको तर्क छ
।
राज्यले दशैँलाई लामो बिदा दिने र विशेष सुविधा उपलब्ध गराउने तर अन्य समुदायका चाडपर्वले समान प्राथमिकता नपाउने विषयलाई उनले सामाजिक–राजनीतिक दृष्टिले महत्त्वपूर्ण मानेका छन् ।
उनका अनुसार चाडपर्वको सामूहिक अभ्यासले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ । पहिले गाउँमा सबै मिलेर पिङ बनाउने, बाँस काट्ने, डोरी बाट्ने र सामूहिक रूपमा उत्सव मनाउने चलन थियो। अहिले भने डिजिटल प्रविधि र मोबाइलमा आधारित मनोरञ्जनले सामूहिक सहभागिता घटाएको छ। यसले मानिसबीचको सम्बन्ध र सामूहिक अनुभूतिमा असर पार्न सक्ने उनको चिन्ता छ।
दशैँलाई धार्मिक अन्धविश्वास, आर्थिक बोझ र तडकभडकभन्दा टाढा राखेर सांस्कृतिक पर्वका रूपमा विकसित गर्नुपर्ने उनी बताउँछन्। परम्परा समयसँगै परिवर्तन हुनु स्वाभाविक भएपनि त्यसले मानिसलाई आर्थिक सङ्कटमा पार्ने वा सामाजिक विभेदलाई बलियो बनाउने अवस्था आउन नहुने उनको भनाइ छ।
उनका अनुसार विदेशमा रहेका परिवारसँग भिडियो कलमार्फत दशैँ मनाउनु वा समयअनुसार नयाँ अभ्यास अपनाउनु गलत होइन। मुख्य कुरा देखासिकी नगर्नु, आफ्नो स्वास्थ्यको ख्याल गर्नु, आर्थिक क्षमताभित्र रहेर चाड मनाउनु र धार्मिक तथा सामाजिक विभेदबाट मुक्त हुँदै मानवीय सम्बन्धलाई प्राथमिकता दिनु हो।
समय परिवर्तनशील छ र चाडपर्व मनाउने शैली पनि परिवर्तन हुँदै जान्छ। तर परिवार, सद्भाव, सांस्कृतिक स्मृति र मानवीय सम्बन्धलाई केन्द्रमा राख्न सके दशैँको आत्मीयता नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकिने उनीहरूको साझा अनुभूति देखिन्छ।