कात्तिक ३, काठमाडौं । हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । हामी यही मन्दिरको कथा खोज्दै रिपोर्टिङका लागि त्यहाँ पुगेका थियौं ।

मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द ढोकाअगाडि केही मानिस पूजाआजा गरिरहेका थिए । कोही हात जोडेर देवीलाई सम्झिरहेका थिए त कोही श्रद्धापूर्वक पूजा गरेर फर्किरहेका थिए ।
मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ?
स्थानीयसँग बुझ्दै जाँदा थाहा भयो, तलेजु भवानी मन्दिर, जुन बडादशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ने परम्परा छ । बाँकी दिन मन्दिरमा सर्वसाधारणले भित्र प्रवेश गरेर दर्शन गर्न पाउँदैनन् । तर ढोका बन्द हुँदैमा यहाँको धार्मिक आस्था र पूजापरम्परा भने रोकिँदैन ।
मन्दिरबारे स्थानीय शान्ति अमात्यले आफूले सानैदेखि सुन्दै र देख्दै आएको परम्पराबारे सुनाइन् ।
‘तलेजु भवानी मन्दिर महानवमीको दिन एक दिन मात्र खुल्ने गर्छ । पहिलादेखि नै त्यस्तै चल्दै आएको, सुन्दै आएको हो । अरू बेला पूरै बन्द हुन्छ । महानवमीको दिन खोलेर मन्दिरमा दर्शन गर्न पाइन्छ । देवीको दर्शन गर्न, कुमारी वा जीवित देवीको पनि त्यो दिन यहाँ बास हुन्छ रे भन्ने धार्मिक विश्वास छ । उनै देवीको पूजाआजा गरिएको हो ।’
शान्तिको भनाइमा पुस्तौँदेखि चलिआएको परम्पराप्रतिको विश्वास झल्किन्छ । तर यही परम्पराले एउटा जिज्ञासा पनि जन्माउँछ, आखिर तलेजु मन्दिर वर्षमा एक दिन मात्र किन खुल्छ ? यसको सुरुआत कहिलेदेखि भयो ? र, यसको बन्द ढोकासँग जोडिएको इतिहास कस्तो छ ?
मल्लकालीन इतिहास बोकेको मन्दिर
हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, काठमाडौंको मल्लकालीन इतिहास र सांस्कृतिक परम्पराको महत्त्वपूर्ण धरोहर पनि हो ।
तलेजु भवानी काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक इतिहाससँग गहिरो रूपमा जोडिएकी देवी हुन् । विशेषगरी मल्लकालीन राजाहरूले तलेजुलाई आफ्नो आराध्यदेवीका रूपमा पुज्ने गरेको इतिहास पाइन्छ । त्यसबेला धर्म र शासनबीच घनिष्ठ सम्बन्ध थियो । राजकीय शक्ति, राज्यको कल्याण र विजयलाई देवीको आशीर्वादसँग जोडेर हेरिन्थ्यो ।
त्यसैले तलेजु मन्दिरलाई एउटा पूजास्थलका रूपमा मात्र बुझ्दा यसको ऐतिहासिक महत्त्वको पूर्ण चित्र देखिँदैन । यो मल्लकालीन शासकीय परम्परा, धार्मिक विश्वास र उपत्यकाको सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा पनि हो ।
नेपाल पर्यटन बोर्डको विवरणअनुसार राजा महेन्द्र मल्लले तलेजु मन्दिर सन् १५४९ मा निर्माण गराएका थिए । तर हनुमानढोका दरबार संग्रहालय र केही ऐतिहासिक अध्ययनमा यसको निर्माण वर्ष सन् १५६४ उल्लेख गरिएको पाइन्छ ।
मल्लकालीन वास्तुकला र धार्मिक आस्थाको प्रतिनिधित्व गर्ने यो मन्दिर आज पनि काठमाडौंको ऐतिहासिक पहिचानसँग जोडिएको छ । यसको बाहिरी बनावटले प्राचीन वैभव झल्काउँछ । तर यसको महत्त्व इँटा, काठ र कलात्मक छानामा मात्र सीमित छैन । यससँग जोडिएको पूजा विधि, धार्मिक मान्यता र पुस्तौँदेखि चल्दै आएको परम्पराले पनि यसको विशिष्टता निर्धारण गरेको छ ।
वर्षमा एक दिन मात्र किन खुल्छ ?
तलेजु मन्दिरबारे सबैभन्दा बढी चासो जगाउने विषय नै यसको खुल्ने परम्परा हो । वर्षभरि सर्वसाधारणका लागि बन्द रहने मन्दिर महानवमीका दिन खुला गरिन्छ । यही विशेषताले यसलाई अन्य धेरै मन्दिरभन्दा फरक बनाएको छ ।
महानवमी बडादशैंको महत्त्वपूर्ण दिन हो । यस दिन देवी दुर्गाको विशेष पूजा–आराधना गरिन्छ । तलेजु भवानीसँग पनि महानवमीको विशेष धार्मिक सम्बन्ध छ । वर्षभरि मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाउने सर्वसाधारणका लागि यस दिन देवीको प्रत्यक्ष दर्शन गर्ने अवसर प्राप्त हुन्छ ।
तर मन्दिर वर्षमा एक दिन मात्र खुल्ने परम्पराको वास्तविक ऐतिहासिक कारण के हो, यो परम्परा कहिलेदेखि सुरु भयो र यसको निरन्तरताको आधार के हो ? यी प्रश्नको स्पष्ट उत्तर खोज्न मन्दिरका पुजारी, व्यवस्थापनमा संलग्न अधिकारी र इतिहासविद्सँग थप संवाद आवश्यक छ । तर हामीले प्रयास गरेका थियौं तर सम्भव हुन सकेन ।
स्थानीयले सुनाउने धार्मिक विश्वासले यस परम्पराको सामाजिक र सांस्कृतिक पक्ष बुझ्न मद्दत गर्छ । तर जनविश्वास र ऐतिहासिक प्रमाणलाई छुट्टाछुट्टै केलाउनु पनि उत्तिकै आवश्यक छ ।
यहाँ एउटा महत्त्वपूर्ण पक्ष के छ भने, मन्दिर सर्वसाधारणका लागि बन्द रहनु र त्यहाँ पूजा नहुनु फरक कुरा हुन् । मन्दिरमा परम्पराअनुसार नित्यपूजा हुने गर्छ । सार्वजनिक दर्शन सीमित भए पनि धार्मिक गतिविधि आफ्नै विधि र परम्पराअनुसार सञ्चालन भइरहन्छन् ।
बन्द ढोकाबाहिर देखिने आस्था
रिपोर्टिङका क्रममा हामीले देखेको दृश्यले तलेजु मन्दिरको अर्को पक्ष देखायो । मन्दिरको ढोका बन्द थियो, तर मानिसहरू पूजाआजा गरेर फर्किरहेका थिए । उनीहरूका लागि देवीप्रतिको श्रद्धा व्यक्त गर्न मन्दिरभित्र प्रवेश गर्नैपर्ने थिएन । बन्द ढोकाअगाडि नै हात जोडेर पूजा गर्नु पनि उनीहरूको आस्थाको अभिव्यक्ति थियो ।
यो दृश्य एउटा धार्मिक अभ्यासको दृश्य थिएन । यसले धार्मिक परम्पराले मानिसको दैनिक जीवनमा कस्तो स्थान ओगटेको छ भन्ने पनि देखाउँथ्यो । मन्दिरभित्र प्रवेश गर्न नपाए पनि मानिसहरू त्यहाँ पुगिरहेका थिए । उनीहरूका लागि तलेजु केवल हेर्न जाने ऐतिहासिक सम्पदा थिएन, श्रद्धा र विश्वाससँग जोडिएको स्थल थियो ।
बन्द ढोकाभित्र अनेक अर्थ
हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको ढोका बन्द थियो । तर त्यहाँ पुगेका मानिसहरूको आस्था खुला थियो । कोही पूजा गरेर फर्किरहेका थिए, कोही मन्दिरको बनावट नियालिरहेका थिए । म भने एउटा प्रश्न बोकेर फर्किएँ, वर्षमा एक दिन मात्र खुल्ने यो मन्दिरको ढोकाभित्र कति इतिहास, विश्वास र परम्परा लुकेका छन् ?
तलेजु मन्दिरलाई बाहिरबाट हेर्दा यो काठमाडौंको एउटा प्राचीन धार्मिक सम्पदा देखिन्छ । तर यसको इतिहास खोतल्दै जाँदा मल्लकालीन शासन, राजकीय आस्था, धार्मिक अनुष्ठान र जीवित सांस्कृतिक परम्पराको कथा खुल्दै जान्छ ।
महानवमीका दिन खुल्ने मन्दिरको ढोकाले भक्तजनलाई देवीको दर्शन गर्ने अवसर दिन्छ । तर यसको वास्तविक इतिहास बुझ्न भने एउटा दिन पर्याप्त हुँदैन । त्यसका लागि आवश्यक छ, प्रश्न गर्ने जिज्ञासा, तथ्य खोज्ने धैर्य र पुस्तौँदेखि चलिआएको परम्परालाई नजिकबाट बुझ्ने प्रयास ।
सायद तलेजु मन्दिरको सबैभन्दा रोचक पक्ष पनि यही हो । यसको ढोका वर्षमा एक दिन खुल्छ, तर यसले जन्माउने प्रश्न र यसको इतिहासप्रतिको जिज्ञासा भने वर्षभरि खुला रहन्छ ।