असोज ५, रूपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले प्राविधिकसहित ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन आग्रह गरेको छ । सोमबार ज्योतिनगर पहिरोले क्षति नपुराओस् भनेर सावधानी अपनाउन र सुरक्षित बनाउन अवलोकन गर्न गएको बुटवल उपमहानगरपालिका प्रमुखसहितमाथि भएको आक्रमणको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा नचलाउने बताएका हुन् ।

स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमबार मुक्का हानेपछि सबैतिरबाट घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै उनी पक्राउ परेका छन्। चुरेको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गर्दै पन्थीले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको पहुँचमा नभएकाले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताए ।
पन्थीको भनाई थियो “ज्योतिनगरको पहिरो स्थानीय सरकारको नियन्त्रण भन्दा बाहिर गयो, स्थानीय सरकारले मात्रै पहिरो नियन्त्रण गर्न र राहत दिन सक्दैन, संघ र प्रदेश सरकारको ध्यान जानुपर्छ, यसको व्यवस्थापनमा अर्बौ रकम खर्च हुने अवस्था आइसकेको छ।”
पन्थीले भने(बुटवलमा एमाले नेतृत्वको सरकार छ, स्थानीय सरकार गम्भीर छ, पार्टी पनि गम्भीर छ, हामी स्वयमंसेवक परिचालन गर्न तयार छौ।”