वैशाख ४, काठमाडौं । सुमधुर स्वरकी धनी गायिका जशु अधिकारीको नयाँ सांगीतिक कोशेली “ऐना सिसाको, माया गर्छु भनेकै छु किन रिसाको” सार्वजनिक गरिएको छ। गीत आज “जशु अधिकारी अफिसियल” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

उक्त गीतमा जशु अधिकारीसँगै राम प्रसाद पौडेल र वीर विश्वकर्माको स्वर रहेको छ। धादिङमा जन्मिएकी र हाल मकवानपुरको हेटौडामा बसोबास गर्दै आएकी अधिकारी लामो समयदेखि लोक संगीतको श्रीवृद्धिमा सक्रिय रहँदै आउनुभएको छ। सानै उमेरदेखि संगीतमा समर्पित रहनुभएकी उहाँले आफ्नै आमाको प्रेरणाबाट लोक तथा दोहोरी क्षेत्रमा प्रवेश गर्नुभएको हो।
उहाँ संगीतमा “बिक्नु भन्दा टिक्नु ठूलो” भन्ने मान्यता राख्नुहुन्छ। यसअघि “फूलको बोटैमा”, “माया एकनासैको”, “क्यानम” लगायतका उत्कृष्ट गीतहरू सार्वजनिक गरिसक्नुभएकी अधिकारी देशभर हुने मेला–महोत्सव तथा प्रत्यक्ष दोहोरी कार्यक्रममा व्यस्त रहँदै आउनुभएको छ।
नयाँ गीत “किन रिसाको” मा जशु अधिकारी र राम प्रसाद पौडेलको शब्द तथा वीर विश्वकर्माको संगीत रहेको छ। प्रेमील जोडीबीच उत्पन्न हुने शंका, करुणा र मायाका भावनालाई गीतले समेटेको छ। गीतमा संजय श्रीपालले एरेन्ज, मिक्स तथा मास्टरिङ गर्नुभएको छ भने रेकर्डिस्ट रमेश नेपाली हुनुहुन्छ।
गीतको भिडियो बागमती प्रदेशका विभिन्न ग्रामीण क्षेत्र तथा पार्कहरूमा छायांकन गरिएको छ, जसले दृश्यलाई अझ आकर्षक बनाएको छ। भिडियोमा जशु अधिकारी र कैलाश कठायतको मुख्य अभिनय तथा नृत्य देख्न सकिन्छ। महेश महराको छायांकन, दिपक भिस्टाको सम्पादन र कविता तोलाङ्गीको श्रृंगार रहेको भिडियोमा शेर साउदले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको छ।