जेष्ठ ४, काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको छ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
मन्त्रालयले आज जारी गरेको विज्ञप्ति भनिए अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ ।
यससंगै हालसम्म नेपालमा यो परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जारी गरेको अपीलमा उल्लेख छ ।
हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयको भनाई छ । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवारी वनी जनस्वास्थ्यका मापदण्ड पाल्ना गर्न सवैलाई अनुरोध गरेको छ ।
