फागुन ५, ललितपुर। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकअघि वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले आफूपक्षीय सांसदहरूको भेला डाकेको छ । सानेपास्थित हेरिटेज गार्डेनमा बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाकै स्थानमा ओली पक्षले बोलाएको बैठकअघि नेपाल–खनालनिकट सांसदहरूको भेला चलिरहेको छ ।

११ बजेका लागि ओली पक्षले बोलाएको बिहीवारको बैठकमा नजाने यसअघि नै नेपाल–खनाल पक्षले जनाइसकेको छ । कार्यकर्ता भेला आयोजना गरिएको थाहा हुँदाहुँदै ओलीले संसदीय दलको बैठक बोलाएकाले सहभागी नहुने नेपाल-खनाल पक्षका एक नेताले बताएका छन् । बुधबार बैठकमार्फत सूर्य चुनाव चिह्नबाट लडेका सबैलाई अध्यक्ष ओलीले अनिवार्य उपस्थिति हुन ह्वीप जारी गरेका थिए ।