जीवन के हो भन्ने प्रश्नको उत्तर एउटै शब्दमा दिन कठिन छ। किनकि जीवन केवल जन्म र मृत्युबीचको समय मात्र होइन, अनुभव, अनुभूति, संघर्ष र सफलताले भरिएको एउटा लामो यात्रा हो। जीवन सिकाइ हो, बढाइ–पढाइ हो, हाँसो हो, रोदन हो, कमाइ हो अनि रमाइ पनि हो। प्रत्येक दिनले हामीलाई केही न केही नयाँ पाठ सिकाइरहेको हुन्छ ।

जीवनमा सधैं सुख मात्र हुँदैन, दुःख पनि आउँछ । अनेक उतारचढाव, उकाली–ओराली, घाम–छायाँ र आशा–निराशाका क्षणहरू आउँछन् । कहिले सफलताको खुसीले मन रमाउँछ भने कहिले असफलताले आँखामा आँसु भरिन्छ। तर यही संघर्ष र अनुभवले जीवनलाई अर्थपूर्ण बनाउँछ। द्यौराली, भन्ज्याङ र चौतारीमा यात्रुले विश्राम गरेझैँ मानिसले पनि जीवन यात्रामा अनेक मोडहरू पार गर्दै अगाडि बढ्नुपर्छ।
गाउँघरको जीवनमा मेलापात, भारोपर्म, ऐँचोपैँचो र एकआपसको सहयोग जीवनको सुन्दर पक्ष हो। दुःख–सुखमा छिमेकी र आफन्त साथमा उभिन्छन्। खेतबारी, पाखापखेरा र चौतारीमा बसेर गरिने गफले जीवनलाई मिठास दिन्छ। त्यहाँ सम्बन्धहरू नजिक हुन्छन् र आत्मीयता पाइन्छ ।
तर सहरको जीवन फरक छ। यहाँ मानिसहरू जागिर, व्यवसाय र दैनिक तनावमा व्यस्त छन्। छिमेकी घरसँग पनि चिनजान नहुने अवस्था बढ्दो छ। एउटै घरको आँगन साझा भए पनि मनहरू टाढा–टाढा भएका जस्ता देखिन्छन्। सुविधा धेरै भए पनि आत्मीयता र फुर्सदको अभाव छ ।
अन्ततः जीवनको सान्दर्भिकता भनेको हरेक परिस्थितिबाट सिक्दै, अरूसँग प्रेम र सद्भाव बाँड्दै, आफ्नो कर्तव्य पूरा गर्दै अगाडि बढ्नु हो। जीवन केवल बाँच्नु मात्र होइन, आफू पनि खुसी हुनु र अरूलाई पनि खुसी बनाउन सक्नु हो। यही नै जीवनको वास्तविक अर्थ र सुन्दरता हो ।