भदौ ३०, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेता आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् । माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो । त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेलाई बोलाइएको छ ।

पार्टी गठनपछि पहिलो बैठक बस्न लागेकाले आन्तरिक तयारीका लागि नेताहरु विभिन्न प्रतिवेदन र प्रस्तावहरू तयार पार्न जुटेका हुन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपाल राजनीतिक प्रतिवेदन तयार गर्न लागेका छन् सांगठनिक प्रतिवेदन सचिवालयका संयोजक डा. बेदुराम भुसालले तयार गरिरहेका छन् । त्यस्तै विधान प्रतिवेदन राजेन्द्र पाण्डे लगायतका नेताहरुले तयार गरिरहेको बताइएको छ ।
‘केन्द्रीय कमिटीको पहिलो बैठकको आन्तरिक तयारीस्वरुप विभिन्न प्रतिवेदन तयार पार्ने काम भइरहेको छ, त्यसमा नेताहरु लागिरहनुभएको छ’, प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘राजनीतिक, सांगठानिक र विधान प्रतिवेदनसहित केही महत्वपुर्ण प्रस्ताव तयार गरेर स्थायी कमिटीले पारित गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुनेछन् । सो पार्टीका नेताहरुका अनुसार प्रतिवेदन लेखनमा सहजीकरणको काम केन्द्रीय सचिवालयका सदस्यहरुले गरिरहेका छन् ।