भदौ २९, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुन:स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले पुन:स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताए ।

बालेनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको सोमबारको छलफल उनीहरुको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौ, मिलेर काम गर्यौँ ।’
प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुन:स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरु पूर्ववत् अवस्थातर्फ स्वत:स्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री शाहले आफूहरुले सुरुआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरु जोखिममा रहेको विषय उठाउँदै बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुन: बस्ती बसाउन सम्भव नहुने बताए । त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै, तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराए ।
‘बस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै, वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । यसका लागि प्रधानमन्त्री शाहले आफै जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे ।