• २०८१ बैशाख १५ गते शनिवार

कैलालीमा १० फिट १ इन्च लामो बाघको छालासहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३०, कैलाली । प्रदेश अनुसन्धान व्युरो (आरटीआई) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले मंगलबार बेलुकी मोलमोलाई गरेर किन्ने बहाना गर्दै बाघको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।

१० फिट १ इन्च लामो बाघको छालासहित प्रहरीले मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका ५२ वर्षीय पूर्णबहादुर बुढामगर र उनकै ज्वाइँ नाता पर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर १ घर भएका ३० वर्षीय लोकेश सिजापतीलाई पक्राउ गरेको हो । गत फागुनको पहिलो साता गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा देखिएको पाटेबाघलाई सिकारीले मारेको पुष्टि भएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका स्थानीयले पाटेबाघको छाला बेच्न खोज्दा प्रहरीले पक्राउ गरेपछि सोही बाघ मारेको पुष्टि भएको हो ।

प्रहरीको अनुसन्धान टोलीले ३० लाख रुपैयाँमा खरिद गर्ने भन्दै मोलमोलाई गर्ने क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ७ को सिंहासन सामुदायिक वन परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । गत फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई पाटेबाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही समयदेखि बाघ सो क्षेत्रमा डुलिरहेको थियो। माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको पाटे बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो । अण्डैयामा दुई दिन बिताएको बाघ मट्कौनाको जंगलै जंगल तालबन्दहुँदै सालघारी पुगेको थियो । फागुन ९ गते सालघारीमा देखिएको बाघलाई स्थानीयले सोही समयमा मारेको हुनसक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस