मंसिर २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्नुभएको छ । आज सोमवार लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीको भर्खरै भएको महाधिवेशनमा हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिन गर्न निष्पक्ष समिति बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले पत्रमा लेख्नुभएको छ, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस् । यसो गर्न सक्नुभयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ ।’
नेता थापाले आफू पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध रहेको र पार्टीमा आफ्नो रगत, पसिना बगेको बताउनुभएको छ । यस्तै उहाँले आफूलाई पार्टीको धेरै माया रहेको र हजारौँ कार्यकर्ताको भविष्यको चिन्ता रहेको पत्रमा लेख्नुभएको छ ।
लिङ्देनलाई थापाको पत्र


