फाल्गुन २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाए पनि चुनाव जितेर पुनः पदमा फर्कने बताउनु भएको छ । । काठमाडौँमा आज भएको अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उहाँले २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने उल्लेख गर्नुभयो ।
उहाँलेभन्नुभयो, ‘कसैले जालझेल, षड्यन्त्र गरेर हटाउन सक्छ भने हटाओस् । २० महिनापछि सूय चिह्नधारी एमाले दुईतिहाइ बहुमतसहित सिंहदरबारको मूलगेटबाट पस्छौँ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई ‘नक्कली लोकतन्त्रवादी’को संज्ञा दिनुभएको छ ।
उहाँले अबको डेढ–दुई वर्षमा लोकतन्त्र र संविधानमा कुनै आँच नआउने उल्लेख गर्नुभयो । उहाँले भने, ‘डेढ–दुई वर्षपछि चुनावमा जाँदा के लोकतन्त्र समाप्त हुन्छ ? संविधान च्यातिन्छ ?,’ उनले भने, ‘नक्कली लोकतन्त्रवादीहरु, नक्कली जनवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्यो, चुनाव घोषणा गर्यो, जनताका बीचमा जाने कुरा गर्यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्यो ।’
प्रधानमन्त्री ओलीले कहिल्यै पनि महिलाको अपमान गर्नु नहुने बताउदै ‘बोक्सी हुन्छन् भने मलाई लगाइदिए हुन्छ’ भन्दै आफ्ना विरोधहरुलाई व्यंग्य पनि गर्नुभयो । ‘बोक्सी लाउँदा हुन्थ्यो भने किन यिनीहरु यसरी कराउँथे ? बोक्सी लगाइदिन्थे । बोक्सी हुन्छन् भने मलाई लगाइदिए हुन्छ । महिलाको अपमान गर्नु भनेको आमा बिर्सिनु हो ।’