कात्तिक २८, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले बिचौलिया भनिएका इनम सापकोटा सरकारका नजिक रहेकाहरूसँगै जोडिएको दाबी गरेका छन्। बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले नै इनम सापकोटालाई प्रयोग गरिरहेको गम्भीर आरोप लगाए।

उनले भने, ‘इनम भन्ने एउटा बाबु फेरि कताबाट निकालेर नचाइराखेका छन्। त्यो के नचाएको हो म बुझ्दिनँ। अनि इनम सापकोटा जताबाट हेर्यो उनीहरूकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ त उनीहरूकै देखिन्छ।’
अध्यक्ष ओलीले यो सरकार अवैधानिक क्रियाकलाप, आगजनी र तोडफोडबाट उत्पत्ति भएको आरोप लगाए। वर्तमान सरकारबाट देश र जनताको भलो नहुने दाबी गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
पार्टी विरोधीहरूलाई कडा चेतावनी दिँदै उनले थपे, ‘नेकपा एमाले सकियो भन्नेलाई जवाफ आन्दोलन र चुनावबाट दिनुपर्छ। एमाले सकिएको होइन, देशको सबभन्दा सही विचार बोकेको, सङ्गठित, प्रभावशाली, कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने फेरि हामीले देखाउनुपर्छ।’