फागुन २४, मोरङ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगर झिकाउँदै सीमा नाका कटाएर भारततर्फ लैजान खोज्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगर रहेका छन् ।

उनीहरुलाई विराटनगर–१६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको हो । दुवै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार राम्रो कमाईको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्राउ गरिएको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २३ र ३१ वर्षीया दुई महिलालाई पनि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ ।