फागुन २४, काठमाडौं । अख्तियारको थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ परेका छन्। आयोगको टोलीले उनीहरुलाई आइतबार साँझ घुस रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको हो।
घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश जोशीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। हवल्दार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस मागेकी थिइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सेवाग्राहीबाट ११ लाख रुपैयाँ अतिरिक्त रकम लिई हवल्दार श्रेष्ठले ओल्ड टाउन क्याफे पब एन्ड रेष्टुरेन्टका सञ्चालक अनिश जोशीलाई राख्न दिएकी थिइन । राख्न दिएको घुससहित दुवैलाई काठमाडौं महानगरपालिका वडा नं। ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिईएको हो।