कात्तिक १६, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायालयभित्रको विवाद न्यायालय आफैँले समाधान गर्नुपर्ने बताएका छन् ।मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको ‘सञ्चार सम्बन्धी कानूनका विषयमा अन्तक्र्रिया’मा बोल्दै मन्त्री बडुले संविधानले आफूहरूको सीमा तोकेको भन्दै न्यायालय स्वतन्त्र नै हुनुपर्ने बताएका छन् ।

सरकारले ‘न्यायालयभित्रको विवाद न्यायालय आफैँले समाधान गरोस्’ भनेर हेरिरहेको उनको भनाइ छ । त्यस्तै उनले समयमा यसको व्यवस्थापन गरेर जनताको न्याय पाउने अधिकार सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
न्यायपालिका, कार्यपालिका र संसद्का आ–आफ्नै जिम्मेवारी र सीमा भएको उल्लेख गर्दै उनले न्यायालयभित्रको विवाद न्यायालयभित्रै समाधान खोजिनुपर्ने बताए । अदालत नै जनताले न्याय पाउने अन्तिम थलो भएकाले अदालतमा यस्तो समस्या आउनु दुःखद् कुरा भएको उनले बताए ।