असोज १५, काठमाडौँ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा विहीबार राति पूर्व माओवादी नेता प्रभु साहसँग भएको वार्ता सहमतिमा नपुगी टुंगिएको छ । आफ्नो ८ बुँदे माग लिखित रुपमा सम्वोधन नभएसम्म विधान महाधिवेशनमा उपस्थित नहुने भएका छन् ।

बिहीबार राति अबेरसम्म एमाले मुख्यालयमा महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल लगायतको टोलीले पूर्वमन्त्री प्रभु साहसँग वार्ता गरेका थिए । छलफलका क्रममा एमाले नेताहरुले एउटा विज्ञप्तिमार्फत प्रभु साहको ८ बुँदे मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाउन तयार रहेको बताएका थिए । विज्ञप्ति जारी गरेपछि विधान महाधिवेशनमा साहले सहभागिता जानाउनुपर्ने एमाले नेताहरुले आग्रह गरेका थिए ।
पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा प्रवेश गरेका प्रभु साह औपचारिकरुपमा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । तर, उनी एमालेका बैठकहरूमा सहभागी हुने गरेका छैन । सहभागी भएका केही बैठकमा पनि उनले माइन्युटमा हस्ताक्षर नगरी हिँड्ने गरेका छन् । आजबाट सुरु हुने विधान अधिवेशनमा पनि आफ्ना ८ बुँदे मागहरु पूरा नभएसम्म साहले उपस्थित नहुने बताउँदै आएका छन् ।