साउन १५, काठमाडौँ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी विकास महाशाखा, बागमती प्रदेशको आयोजनामा हेटौडामा भएको प्रदेश स्तरीय सहकारी संघहरुको दर्ता प्रमाण पत्र वितरण समारोहमा मुख्य मन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सहकारी संघ र २ वटा विषयगत प्रदेशस्तरीय सहकारी संघलाई बुधबार प्रमाणपत्र प्रदान गर्नुभयो ।

मुख्य मन्त्री पौडेलले सो समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारले सहकारी सम्बन्धी कानुनहरु तयार गरिसकेकाले अब सहकारीको पुँजीलाई देश विकासमा लगानी गर्न सहज भएको भन्दै त्यसमा सहकार्य गर्न आग्रह गर्नुभयोे । उहाँले भन्नुभयो,‘सहकारीसँग मिलेमा धेरै कार्य गर्न सकिन्छ । किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको बजारीकरणमा सहकारी क्षेत्रको संलग्नता बृद्धि गरी प्रदेश सरकार सहभागी हुने छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राष्ट्र निर्माण तथा रोजगारी सिर्जनामा सहकारीको भूमिका रहने बताउनुभयो ।

वागमती प्रदेशले पहिलो पटक प्रदेश संघ गठन गरेकोमा राष्ट्रिय सहकरी महासंघका अध्यक्ष मिनराज कँडेलले खुसी व्यक्त गर्दै संविधानले तिन खम्बे अर्थनीतिलाई आत्मसात गरेका र स्थानीय र प्रदेश सरकारले समेत यसलाई महत्व दिन थालेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले अब प्रदेश सरकारले बनाउने नीति कार्यक्रम, बजेट, कानुनलगायतका विषयमा प्रदेश सहकारी संघहरुको समेत सुझाव लिएर अगाडी बढ्न अनुरोध गर्नुभयो । उहाँले कोभिड १९को महामारीका कारण भएको लकडाउनको समयमा अभियानले गरेको कार्यको उजागर गर्ने कार्यमा राष्ट्रिय सहकारी महासंघले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । उहाँले लकडाउनको समयमा सहकारीले खेलको भूमिकालाई सरकारले आगामी दिनमा भुल्दैन भन्ने विश्वास व्यक्त गर्दै सहकारी दुःखको बेलामा काम लाग्ने अभियान रहेकोमा जोड दिदै प्रदेश सरकारसँग सहकारी अभियान हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो ।
बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्षमा उद्धव सापकोटा र वागमती प्रदेश कृषि सहकारी संघका अध्यक्षमा डिल्ली पाठकलाई मूख्यमन्त्री पौडेलले प्रमाणपत्र हस्तान्तण गर्नुभएको हो ।प्रदेश सांसद प्रकाश श्रेष्ठ, प्रदेश नीति तथा योजना आयागेका उपाध्यक्ष श्याम कुमार बस्नेत, प्रमुख सचिवत डा मानबहादुर विक, प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकालले समेत कार्यक्रममा सहकारीको महत्वको विषयमा बोल्नुभएको थियो ।
बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका संचालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायाण देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक केवी उप्रेती, महासंघका संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले अभियानको तर्फबाट सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकराी मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीले सरकारलका कार्यक्रममा सहकारी प्राथमिकतामा रहेको बताउनुभयो ।