असार १६, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधानमन्त्री निवास वालुवाटारमा भएको आज चौथो दिन भएको छलफलमा १८ जना सांसदहरुले आफ्नो धारणा राख्नु भएको छ । स्थायी कमिटीको बैठकमा विशेष गरी दुई वटा विषयमा केन्द्रित रहि गम्भिर रुपमा छलफल भएको छ ।
दुई वटा विषयमा मदन जयन्तीका अवसरमा असार १४ गते सम्माननीय प्रधानमन्त्रीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा(एमाले) को सम्बन्धमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
उक्त दुई विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गरी १८ जनाले आआफ्ना धारणा राख्नुभएको थियो ।
अर्को बैठक भोलि असार १७ गते ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।