मंसिर ६, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका २ कविलासको पाठकथोकमा रहेको कपिलेश्वर महाँदेव मन्दिर पुनर्निर्माणको जिम्मा पाएको ठेकेदारको कारण भक्तजनलाई दैनिक पूजापाठ गर्न असुविधा पुगेको छ ।
कपिलेश्वर महाँदेवस्थान परिसर संरक्षण तथा उपभोक्ता समितिका अनुसार बाइसधारा कैलाशपति जेभीले पार्टी, मन्दिर, कम्पाउन्ड वाल, मैदान र सिँढी निर्माण गर्ने क्रममा समितिसँग सम्झौता गरेर पानी तान्ने पम्प, बिजुलीको बिल तिर्ने सर्तमा प्रयोग गरेको दुई वर्ष बितिसक्दा पनि सम्पर्कमा ठेकेदार आएको छैन ।
ठेकेदारले सहमतिअनुसार समितिलाई दुई लाखभन्दा बढी भुक्तानी नगरिदिँदा दैनिक पूजा, आरतीलगायत मेला–पर्व, सञ्चालन गर्न असुविधा पुगेको जानकारी जिल्ला प्रशासन कार्यालय नुवाकोट, पञ्चकन्या गाउँपालिका कार्यालय, पुरातत्व विभागलगायतलाई गराउँदा पनि कसैले सहयोग नगरेको समितिका अध्यक्षले गुनासो गरेका छन् ।