पाैष ५, काठमाडौं । सार्कअन्तर्गत नेपाल सबैभन्दा बढी कोरोना संक्रमणमुक्त हुने राष्ट्र बनेको छ । यसअन्तर्गत नेपालमा कुल संक्रमितमध्ये ९५.८० प्रतिशत मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित २ लाख ५३ हजार १ सय ८४ मध्ये २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८ हजार ८ सय ४० रहेको छ । कोरोना संक्रमणसम्बन्धी रेकर्ड राख्दै आएको वल्र्डमिटरका अनुसार संक्रमणमुक्त धेरै हुने देशको सूचीमा माल्दिभ्स रहेको छ । त्यहा“ हालसम्म कुलमध्ये ९५.४७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित १३ हजार ४ सय ४४ मध्ये १२ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, भारतमा कुलमध्ये ९५.४५ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल १ करोेड ५ हजार ८ सय ५० मध्ये ९५ लाख ५० हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् । वल्र्डमिटरका अनुसार भुटानमा कुल संक्रमितमध्ये ९२.२५ प्रतिशत संक्रमणमुक्त भएका छन् । हालसम्म ४ सय ४३ जनामा संक्रमण भएकोमा ४ सय २२ मुक्त भएका छन् ।
पाकिस्तानमा हालसम्म ४ लाख ५४ हजार ६ सय ७३ जनामा संक्रमण देखिएको छ । जसमध्ये ४ लाख ४ हजार ५ सय एकजना संक्रमणमुक्त भएका छन् । जुन ८८.९६ प्रतिशत हुन आउँछ । उता, बंगलादेशमा कुलमध्ये ८७.०१ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित ४ लाख ९८ हजार २ सय ९३ मध्ये ४ लाख ३३ हजार ६ सय १४ संक्रमणमुक्त भएका छन् ।
अफगानिस्तानमा हालसम्म ५० हजार ५ सय ३६ मध्ये ३ लाख ३८ हजार ७ सय ९९ संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, श्रीलंकामा कुलमध्ये ७६.७७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित ३६ हजार ४९ मध्ये २७ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।
आईसीयूमा संक्रमित घट्दै
कोरोना संक्रमण भइ आईसीयूमा उपचाररत संख्या घट्दै गएको पाइएको छ । गत मंगलबार ३ सय २१ संक्रमित रहेकामा शनिबारसम्म २ सय ७९ आईसीयूमा छन् ।
देशभर २ सय ७९ आईसीयू र ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ मा २१ आईसीयू र तीन भेन्टिलेटर, प्रदेश २ मा सातजना आईसीयू र चार जना भेन्टिलेटर, बाग्मती प्रदेशमा एकसय चार आईसीयू र २५ भेन्टिलेटर, गण्डकी प्रदेशमा चारजना आईसीयू र ११ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४८ आईसीयू र तीन भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा सात जना आईसीयू र तीन भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा आठ आईसीयू र दुई जना भेन्टिलेटरमा छन् ।
शनिबार देशभर ७ सय १० संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । शनिबारै ४ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ ।
शनिबार थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतक संख्या १ हजार ७ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल, ४ सय २१ जना क्वारेन्टाइनमा छन् । याे समाचार राजधानी दैनिकमा रहेकाे छ ।