• २०८३ जेष्ठ ५ गते मङ्गलवार

वर्तमान अवस्थामा सरकारी अस्पतालको सेवा र मेरो आत्मविस्वास

पढ्न लाग्ने समय : ८ मिनेट
  • कमला लुईटेल

काखको छोरो भर्खरै ६/७ महिनाको मात्र भएको थियो, गाडीमा आउ जाउ गर्ने क्रममा दाहिने खुट्टामा केही असजिलो महसुस हुन थालेको थियो । एक त आफैं स्वास्थ्य सस्थामा कार्यरत सोही क्रममा डाक्टरहरु संग सल्लाह लिने औषधि खाने क्रम लगभग एक डेढ वर्ष नै चल्यो। कहिले एक्कासी शरीरको तौल बढेको कारण देखाइयो त कहिले शरीरमा के के को कमि ? तर आफुलाइ कम हुनुको सट्टा खुट्टाको दुखाइ कम्मर अनि ढाडमा आइसकेको थियो ।

केही गर्दा नि नभएपछि डाक्टरको अनुमान अनि सल्लाह अनुसार MRI गर्ने निर्णयमा पुगियो । ढाडको नसा च्यापिएको अनुमान डाक्टरहरुले गर्नु भएको थियो। सो कुरा सुन्दै मुटुले ढ्याङ्रो ठोक्न थालिसकेको थियो । MRI भयो र आखिर रिपोर्ट तेहि आयो जे नआओस भनेर सोचिएको थिए। रिपोर्ट लिएर धेरै तिर धाइयो । कोहि डाक्टरले तुरुन्त अप्रेसन गर्नुपर्ने नत्र तत्काल अपांग हुन सके कुरा नि बताउनु भयो । ढाडको अप्रेसन त्यसमाथी नशाको गर्न हुदैन भनेर धेरै सुनिएको थियो। कतिपय सफल नभएका आफ्नै आँखाले पनि देखिएको थियो। घरपरिवार, आफन्त, साथीभाइले सबैले अप्रेसन नगर्न सल्लाह दिनुभयो । फेरि केही डाक्टरले तुरुन्तै अप्रेसन नगरी अन्य विकल्प नि अपनाउन सकिने सल्लाह दिनुभयो। अप्रेसनको कुरा त्यसमाथी परिणाम राम्रो आउदैन भन्ने कुराले म एकदम आत्तिएकी थिये। लगभग डिप्रेशनको स्थितिमा पुगिसकेकी थिए । कहिलेकाहीँ त मनमा एकदम नराम्रा कुरा नि आउथे तर बच्चा अनि घरपरिवार हेरेर मन फेर्थे ।

अप्रेसनको विकल्प पनि छ भन्ने सुनेपछी छुट्टै उर्जा उत्पन्न भयो। फेरि आत्मबिश्वास बढेर आयो । सकेसम्म अप्रेसन गर्नु नपरोस भनेर सकेको जति सबै गरियो । औषधि, फिजियोथेरापी, अकुप्रेसर, आयुर्वेदिक जे जति अरुले सुझाए उतै दौडिने काम गरियो । ढाडमा सुइ पनि लगाइयो । यो बिचमा आफुलाइ अरु जस्तै स्वस्थ छु जस्तो लाग्थ्यो । तर ती सबै उपचारले करिब ३ बर्ष जति मात्रै काम गर्यो । फेरि २०७६ असारदेखि दुबै खुट्टामा समस्या देखिन थाल्यो । उठ्न बस्न नि समस्या हुने, सुतेपछि कोल्टो फर्कीन नसक्ने, हिडाइ पनि हल्का दाहिनेतिर बढी ढल्किने हुन थाल्यो ।

अप्रेसन पश्चात लेखक र डा. गौरवराज ढकाल

फेरि तेस्रो पटक MRI गरियो। सो रिपोर्टमा अलि जटिल देखिएपछि मैले चिनेकै डाक्टर मार्फत म ट्रमा सेन्टरका SPINE रोग विशेषज्ञ डा. गौरव राज ढकाललाई देखाउन गए । डाक्टरले सबै रिपोर्ट हेरेर अन्य उपचार विधीले पनि काम नगरिसकेको अबस्थामा अप्रेसन नै उत्तम उपाय रहेको बताउनुभयो । सरकारी अस्पतालको ओपिडीमा पनि बिरामीहरुलाइ मज्जाले समय दिएर बिरामीका सबै कुरा सुनी सकारात्मक तरिकाले आफ्न कुरा राख्ने उहाको शैलिले निकै प्रभाव पार्यो । ढाडमा पुन इन्जेक्सन लगाउने मनाशायले पुगेकि म अप्रेसनको लागि राजी भएर घर परिवारसंग सल्लाह गरेर आउने निर्णयसहित घर फर्के । सधै दुख्यो-दुख्यो भनेर छट्पटाई रहेको अबस्था देखेर घर परिवार पनि अप्रेसनको लागि राजी हुनुभयो ।

फेरि मेरो ममिको पनि ढाडको अप्रेसन सफल भएको थियो । म अप्रेसनको लागि राजी भएको कुरा मेरा इस्टमित्र, साथिभाइ सबैलाई थाहा भैसकेको थियो । धेरैले गलत गर्दैछेस भन्नू भयो । केहीले नेपालमा spine को अप्रेसनको परिणाम राम्रो नभएको र INDIA नै जानको लागि पनि सल्लाह दिनुभयो। फेरि केहीले चाहिँ राम्रा उदाहरण दिदै नडराइ यहि गर्न पनि भन्नू भयो । मनमा दोधार त पक्कै भयो तर म पहिले देखि सबैको कुरा सुन्ने निर्णय चाहिँ आफै गर्ने सबैको नजरमा जिद्दीमान्छे । यसपाली नि मेरै जिद्दिले जित्यो, तर यो जिद्दीमा मेरो सम्पुर्ण घरपरिवारको साथ थियो । अप्रेसन नै गर्ने निर्णयमा पुगेपछी आफुले उपचार गराउन लागेको संस्था र संम्लग्न चिकित्सकहरुको बारेमा नि केहि बुझ्ने काम गरे। जे भए नि जिन्दगीको यति ठूलो निर्णय येत्तिकै लिन पनि त सजिलो थिएन । भर्खरै ३२ बर्षको उमेर भोलीको सिंगो जिन्दगी त भोग्नै थियो । अरुले INDIA गएर उपचार गर्न सुझाव दिरहेको अबस्थामा यो थाहा पाए कि डा. गौरब आफै INDIA बाट यो बिषयमा गोल्ड्मेडलिस्ट हुनु हुदो रहेछ । अब म निर्धक्क भएर उहाँसगं अप्रेसन गराउन सक्नेमा पुगे । हामी अप्रेसनको तयारीमा लागेउ, डा. ले म, मेरो बाबा अनि मेरो श्रीमानलाई राखेर अप्रेसन गर्दा आउन सक्ने भवितव्यबारे जानकारी गराउनु भयो ।

भवितव्य त यस्तो कुरा हो जसलाइ कसैले रोकेर रोक्न सक्दैन, यहि सोचेर हामी राजी भयौ । डाक्टरले म आफैंलाई यी सबै बताइरहदा एउटा के कुरा महसुस गरे भन्दा जो कोही बिरामीलाइ पनि उसकाे रोग र उसले भोग्न पर्ने अबस्थाका बारेमा जानकारी हुनै पर्छ । किनकी भोलीका दिनमा केही परे त प्रत्यक्ष भोग्ने त उस्ले हो नि, एक्कासि भन्दा अगाडि नै थाहा भयो भने त मानसिक रुपमा तयार हुन सक्छ नि । डाक्टरको यो शैली पनि मलाइ निकै राम्रो लाग्यो । अप्रेसनको दिन मनमा एकप्रकारको डर थियो तर ट्रमा सेन्टरको अप्रेसन थ्रेटर बाहिर मनमा डर र चिन्ता भएर पनि मेरा लागि ओठमा हासो ल्याईरहनु भएका मेरा परिवार, इस्टमित्र, साथीभाइको अगाडी त्यो डर लुकाइरहेकी थिए । भित्र बिरामीलाई तयार गराउने ठाउँमा मेरो बाबा, श्रीमान अनि डा. गौरव त्यो पेपरमा सहि गर्ने क्रममा कुरा गर्दै हुनुहुन्थ्यो । सुरुमै अप्रेसनका क्रममा बिरामीको ज्यान तलमाथि पर्न सक्छ लेखेको पेपरमा सहि गर्ने क्रममा मेरो बाबा अनि श्रीमान को हात पक्कै कापेको थियो होला तर मेरो आत्मबिस्वासमा कमि नआओस भनेर उहाँहरु हासेर All the best भन्दै हुनुहुन्थ्यो । डा. गौरवको आखाले पनि पिर नगर म छु नि भने जस्तै लाग्थ्यो । सबैलाइ एकपटक हेरेर thumb up गर्दै म अप्रेसन कक्षमा छिरे । युद्ध मैदानमा जान लागेको सैनिक, जसको कुन अबस्थामा फर्कने टुंगो हुन्न तर पनि सकुशल फर्कने आशमा जान्छ तेस्तै हालत थियो मेरो । राती ११ बजेको रहेछ श्रीमानले पानी खुवाउन बोलाउदा बल्ल मैले अलि अलि चाल पाए । मैले अर्को जिन्दगी पाएछु भन्ने कुरा महशुस भयो मलाइ । मेरा हात खुट्टा चलिरहेका थिए, आँखा पनि सकुशल थियो । फेरि एकपटक मेरो जिद्दीले जितेछ । अप्रेसन पछि मेरा सबै परिवार, आफन्त , साथीभाइ म सङै हुनुहुन्थ्यो । अस्पतालका डाक्टर अनि अन्य कर्मचारी लगायत सबैको आशिर्वाद, माया, शुभेच्छा, साथ अनि मेरो आत्मबिस्वासले मलाइ छिट्टै निको बनाउदै थियो । डाक्टरहरु जहिले पनि पर देखि नै ठिक छ नि भन्दै हास्दै आउनुहुन्थ्यो । १०१ बर्षको हजुरआमा देखि सानो छोरा सम्मले छिट्टै निको हुनुपर्छ है भनेर प्राथना गरिरहनुहुन्थ्यो । मैले कहिलेकाहीँ उस्को लुगा लगाइदिदाँ रिसाउने बहिनीको आखाले दिदी छिट्टै निको हुनुन अनि मेरो जुन लुगा मन पर्छ त्यही लगाएर हामीसंगै घुम्न जानूपर्छ भनिरहे जस्तो लाग्थ्यो । डा. गौरव लगायत सिङ्गो टिमले एउटा सानो बच्चालाइ जस्तो केयर गर्नु भयो। न्युरो स्पाइन वार्डका सबै संग एक प्रकारको आत्मियता नै गासिएको थियो ।

जसरी हामिले आफ्नो सन्तान हिड्न सुरु गर्दा संगै ताते गराउदैं हिंड्न उर्जा प्रदान गर्थेउ तेसरी नै डा. गौरबले आफैं अगाडि उभिएर हिड्न उप्रेरणा दिनुहुन्थ्यो । १० दिनको अस्पताल बसाई पछि केही समय आराम गर्नु पर्ने सल्लाह सगैं म डिस्चार्ज भए। के होला कसो होला भन्ने सोच्दै अप्रेसन गर्न गएकी म हिडेर घर फर्के। आफुलाइ रोग लागेदेखि अप्रेसन सकिदासम्म भोगेका यी सबैकुराहरु बाट मैले केही बुझ्ने जान्ने मौका पाए। जुन यहाहरु माझ सेयर नगरि सक्दिन। पहिलो त जुनसुकै रोग लागिसके पछि जचाँउन जाँदा डाक्टरले देखाउने व्यबहारले पनि धेरै फरक पर्दो रहेछ, पीडा कम हुन । डाक्टरको राम्रो व्यबहार सहितको परामर्श र बिरामी आफैको आत्मबिस्वासले नि धेरै प्रभाव पार्ने रहेछ । लगभग डिप्रेसनको अबस्थामा पुगिसकेकी मलाइ सधै सकारात्मक उर्जा प्रदान गर्नु हुने डा. मोहनराज शर्मा, डा. श्यामेन्द्र ब. सिह, डा. निराजन सुवेदी, डा. शिरीष कार्की, डा. सुदिप खनाल, डा. तेज प्रकास दवाडी, डा. प्रकाश पौडेल, डा. सन्तोष पौडेल, डा. सागर कोइराला लगायत सम्पुर्ण साथीभाइ, इस्टमित्र, अग्रजहरु सबैको साथ मेरो लागि अमुल्य छ । नेपालमा पनि स्पाइनको अप्रेसन सफल हुन्छ र यस्को उपचार यहि सम्भब छ भनेर अरुका अगाडि प्रमाणित गर्ने मौका दिनु भएकोमा डा. गौरब राज ढकाललाई जति धन्यवाद दिए नि पुग्दैन । हामी आफै सन्तानलाई डाक्टर बनेस भनेर आशिर्वाद दिन्छौ र फेरि आफै नेपालको चिकित्सा शैलीमा बिस्वास गर्दैनौ भने के अर्थ त्यो आशिर्वाद दिनुको ? संस्था व्यावसायिक बन्ने होडमा लागे भन्दैमा एउटा डाक्टरले आफ्नो नैतिकता भुल्दैन, हरेक डाक्टरको लागि आफ्न बिरामि आफ्नो सन्तान सरह प्यारो हुन्छ । दिन रात नभनि एउटा बिरामीको लागि खटिरहेको हुन्छ । म आफैं एउटा श्रमिकको अधिकारको लागि लडिरहेको मान्छे, ८ घन्टा काम, ८ घन्टा आराम अनि ८ घन्टा मनोरन्जनको वकालत गर्ने मान्छे । तर एउटा स्वास्थकर्मीको टिम कसैको ज्यान जोगाउन आफ्नो अधिकारको प्रवाह नगरी आफ्ना कर्तव्य पूरा गरिरहदा उहाँहरुलाई सम्मान गर्ने कुनै शब्द नै भेटिन ।

अर्को कुरा यदि म बिदेश गएर उपचार गरेको थिए भने उपचारको क्रममा पिडालाइ कम गराउने मेरा सबै परिवार, आफन्त अनि इस्टमित्रको साथ कहाँ पाउथे र ? अर्काको देश, अर्काको भाषा, परिबेशले झन कठिन बनाउथ्यो । अफ्ट्यारो परिस्थितिमा आफन्तको साथ जति ठुलो मलम अरु के नै बन्न सक्छ र ? आफ्नै देशको सरकारी अस्पतालमा यस्तो यत्रो जटिल अप्रेसन हुनु पक्कै सानो कुरा होइन, फेरि अहिले त सरकारले स्वास्थ्य बिमा पनि लागू गरेको छ । यसले पनि केही राहत पक्कै मिल्छ । यति ठूलो ट्रमा सेन्टरमा पोस्ट अपमा एउटा Portable x-ray नहुनु सरकारी पक्षको पनि कमजोरी हो । आवस्यक जनशक्ति, सरसामान लगायतको ब्यवस्था राम्रोसगं गरेर आफ्ना नागरिकलाई यहि सबै प्रकारका रोगको उपचार आफ्नै देशमा गराउन पाउने अधिकारको प्रत्याभूत सरकार एवम सम्बन्धित पक्षले गर्नु पर्दछ ।

अहिले आफुले आफुलाइ धेरै तन्दुरुस्त महसुस गर्न थालेको छु। पहिलेकै दैनिकीमा फर्कन केही समय पक्कै लाग्ला तर बिश्वास छ त्यो दिन छिट्टै आउनेछ। अहिले त मैले सारा पिडाहरु ती ३/४ बर्षमा भोगिसके अब बाकी छैन जस्तो लाग्छ । आफ्नो जिवन के हो र यस्को माया कतिको हुन्छ ती सब यी बिचमा महसुस गरिसकेकी छु मैले । परिवारको पुर्ण रुपमा साथ र हौसला अनि आफुमा आत्मविश्वास नहुदो हो त आज म यी सब यसरी सबैमाझ राख्न सक्ने अबस्थामा हुदिन थिए होला। अप्रेसन भन्दा अगाडिका पछिल्ला केही वर्षहरु के गरु ? कता जाउ ? जिन्दगीलाई कसरी अगाडि बढाउ वा यहि पुर्णबिराम पो लगाउका भुमरीबिचमै रुमल्लिरह्यो। तर आज सन्सारको सबैभन्दा खुसी, सुखी र भाग्यमानी आफुले आफुलाइ ठानिरहेको छु। र यो सबको श्रेय मेरो उपचारमा सम्लग्न मेरो आफ्नै देशका चिकित्सकहरु, मेडिकल टिम अनि मेरा सबै परिवार र आफन्तहरुलाइ दिन चाहन्छु । अन्त्यमा आफ्नै देशको एउटा सरकारी अस्पतालमा आफ्नै देशका डाक्टरलाई बिश्वास गर्दै एउटा जटिल तर सफल अप्रेसन गराउन सकेकोमा आफै प्रती गौरब महसुस गर्दछु ।

( यो लेख  लेखक उहाँको वास्तविक जिवनमा घटेको घटनामा आधारित छ ।)

Sharing

प्रतिक्रिया दिनुहोस