मंसिर, ३० काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक एक वर्षपछि सुरु भएको छ । स्थायी समितिको बैठक नबोलाएको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेपछि स्थायी समितिको बैठक बोलाइएको हो । तीन–तीन महिनामा स्थायी समिति बैठक बस्नुपर्ने भए पनि पार्टीभित्रको आन्तरिक किचलोका कारण स्थायी समितिको बैठक बस्न सकेको थिएन ।

एक वर्षअघि बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचनाका साथै राजनीतिक प्रतिवेदनसमेत परिमार्जन गर्नुपर्ने परिस्थिति आएपछि स्थायी समितिको बैठक बस्न सकेको थिएन । पार्टी एकता भएको डेढ वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी जिम्मेवारी पाएसँगै स्थायी समिति बैठक बोलाइएको हो ।
आइतबारबाट पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको स्थायी समिति बैठकमा प्रचण्डले १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । पार्टी एकताले जनतामा राम्रो सन्देश गएको तर एकता प्रक्रियाले पूर्णता पाउन ढिलाइ हुँदा सांगठनिक हिसाबमा घाटा रहेको उल्लेख गरिएको छ ।
प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनको राष्ट्रियरअन्तर्राष्ट्रिय उपशीर्षकमा नेपालको लिम्पियाधुरा नै नेपाल भारतको सीमा रहेको र भारतले पछिल्लो समय जारी गरेको नक्सामा नेपाली भूभागसमेत मिचेर आफ्नो नक्सामा समेटेको उल्लेख गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।