नेपाली भू-उपग्रह प्रक्षेपण, प्रधानमन्त्री ओली भन्छन्, ‘नेपाल अन्तरिक्ष युगमा प्रवेश’

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख ५, काठमाडौं । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट अर्थात् भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

नासाको एन्टारेस् अन्तरिक्ष यानतस्वीर कपीराइटNASA

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समयानुसार बिहीवार बिहान २:३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

‘अन्तरिक्ष युगमा प्रवेश’

प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रक्षेपणलाई उपलब्धिको रूपमा प्रस्तुत गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको आशय ट्विटरमा व्यक्त गरेका छन्।

NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखिएको छ। त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।

बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो। बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

कत्रो छ नेपाली भू-उपग्रह?

नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ न्यानो स्याटलाइट हो। अर्थात् यो निकै सानो आकारको भू-उपग्रह हो र यसको तौलको झन्डै एक किलो छ।

जापानमा बनेको नेपाली भू-उपग्रह (बीचमा)तस्वीर कपीराइटMADEINNEPAL.SPACE

उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ। बीबीसी नेपाली सेवासँग उनले भने, “नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भयो। आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ। यो हाम्रो पहिलो पाइला हो।” उनको भनाइमा भू-उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ। त्यसको अर्थ निरन्तर नेपाल सरकारले विज्ञान प्रविधि र भू-उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ।

यो भू-उपग्रहले के गर्छ?

मास्केका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ। यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ। यसको सहायताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। मास्केका विचारमा ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुनेछन्।

यो भू-उपग्रह कहिलेसम्म अन्तरिक्षमा रहन्छ?

तर नेपालीस्याट-१ भू-उपग्रह लामो समयसम्म अन्तरिक्षमा रहनेछैन। मास्केको अनुमानमा यो भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।  लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको धारणा छ। यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ। त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिसकेको छ।

श्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस