मंसिर ८, काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको सक्रियतामा आज फुलकोर्ट बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आज सर्वोच्च अदालतमा उपस्थित भए पनि फुलकोर्टमा प्रत्यक्ष सहभागी भएनन् ।
यसअघि गत बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू फुलकोर्ट बसेर पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेका थिए । उक्त निर्णयलाई प्रधानन्यायाधीशले सदर गरेपछि त्यसबमोजिम सर्वोच्च अदालत नियमावलीमा संशोधन गरिएको छ । तर, उक्त संशोधनमा न्यायाधीशहरु आफैं अल्मलिएपछि आजको बैठक यही विषयमा केन्द्रित हुनेछ ।
पछिल्लो निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रूपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्ने छ । उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्ने छन् ।