• २०८३ बैशाख १८ गते शुक्रवार

पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १२, म्याग्दी । पूर्वाधार अभावमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ । पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गर्न समस्या भएको हो । स्वास्थ्यचौकीका अहेव लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताउनुभयो ।

“चार वर्षअघि सुरु भएको भवन निर्माण अझै सकिएको छैन”, उहाँले भन्नुभयो, “बर्खामा पानी चुहिने जीर्ण भवनमा दुःखकष्टका साथ सेवा दिएका छौँ”, कच्ची भवनका कोठा साँघुरा छन् । करिब २५० घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।प्रसूति गराउने, बिरामीको स्वास्थ्य परीक्षण र घाउ, चोटपटक सफा गर्ने ठाउँ साँघुरो छ । सिङ्गो स्वास्थ्यचौकी तीनवटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको अहेव गौतमले बताउनुभयो । एक कोठामा प्रशासन र बिरामीको उपचार गर्ने कक्ष राखिएको छ भने एक कोठामा औषधि भण्डारण र अर्कोमा प्रसूतिकक्ष राखिएको छ ।

दैनिक १० जना सेवाग्राही आउने गर्छन् । विभिन्न तहका छ जनाको दरबन्दी भएको स्वास्थ्यचौकीमा हाल कार्यरत तीन जनामध्ये एक जना मासिकाबाहेक अरु दुई जना करारका हुन् । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्यचौकीको भवनले पूर्णता नपाउँदा अलपत्र परेको छ । दुईतले १४ कोठे भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वल्र्डवाइड मालिका भगवती जेभीले रु एक करोड ७४ लाखमा ठेक्का लिएको थियो ।भवन छाउने, रङरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबारलगायत काम बाँकी छ । स्थानीय भीम छन्त्यालले सम्बन्धित कार्यालय, निर्माण व्यवसायी र सरोकारवालाको बेवास्ताका कारण भवन निर्माणमा ढिलाइ गरेका बताउनुभयो । स्थानीय सहायक ठेकेदारहरूले अधकल्चो बनाएर करिब एक वर्ष रोकिएको भवन निर्माणकार्य आगामी चैतभित्र सम्पन्न गर्ने निर्माण व्यवसायी गोपाल भट्टचनले प्रतिबद्धता जनाउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस